काठमाडौं । नेकपा विप्लव नेतृत्वले नेकपा माओवादी केन्द्रसहित विभिन्न कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणको उद्देश्यसहित वार्ता टोली गठन गरेको छ ।
विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसहित विभिन्न कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणका लागि वार्ता टोली गठन गरेको हो । केन्द्रीय कार्यालय कपिलवस्तुमा भदौ २३ देखि २५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो ।
वार्ता टोलीका सदस्यहरूमा स्थायी समिति सदस्यद्वय अनिल शर्मा र कर्णजित बुढाथोकी रहेका छन् ।
यसअघि, साउन १९ गते सम्पन्न माओवादी केन्द्रको स्थायी समिति बैठकले नेकपा लगायत अन्य कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने निर्णय गरेको थियो ।