राष्ट्रपति पौडेलद्वारा बाल दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस २०८२ का अवसरमा समस्त नेपाली बालबालिका, अभिभावक र सरोकारवालामा शुभकामना व्यक्त गर्दै बाल अधिकार सुनिश्चिततामा सबैको एकीकृत प्रयास आवश्यक रहेको बताएका छन्।

नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २९ गते बाल दिवस मनाइन्छ। यस वर्षको नारा “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” रहेको छ।

राष्ट्रपति पौडेलले जारी गरेको सन्देशमा बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र विकासमा पर्याप्त लगानी हुनुपर्ने आवश्यकता औंल्याउँदै भनेका छन्, “संविधानले बालबालिकाको मौलिक हक सुनिश्चित गरेको छ। ती अधिकारको कार्यान्वयनका लागि सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, विद्यालय, अभिभावकलगायत सबै सरोकारवालाको समन्वय अपरिहार्य छ।”

उनले अझै पनि केही बालबालिका आफ्ना अधिकारबाट वञ्चित भइरहेको तथ्यप्रति ध्यानाकर्षण गराउँदै, बालमाथि हुने सबै किसिमका हिंसा, अमानवीय व्यवहार र दुव्र्यवहार रोक्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे।

सन्देशमा गुणस्तरीय शिक्षा, पोषणयुक्त आहार, सुरक्षित खानेपानी, सरसफाइ, आवश्यक खोप तथा बालमैत्री स्वास्थ्य संस्थाको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ। साथै, घर, विद्यालय र समुदायमा सुरक्षित वातावरण निर्माण गरेर सबै समूहका बालबालिकालाई समान अवसर दिनुपर्ने भनिएको छ।

राष्ट्रपति पौडेलले बालबालिकाको संरक्षण, विकास र सहभागितामा सबै सरोकारवालाको सक्रियता आवश्यक रहेको स्मरण गराउँदै भनेका छन्, “बाल दिवसले बालबालिकाको हित र सर्वाङ्गीण विकासका लागि थप प्रेरणा प्रदान गरोस् भन्ने मेरो हार्दिक शुभकामना छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *