वर्तमान अवस्थाको निर्वाचन नै निर्विकल्प समाधान : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेकाले अब प्रतिनिधिसभा सदस्य निर्वाचन हुने–नहुने भन्ने बहस निरर्थक भइसकेको स्पष्ट पारेका छन्। उनले वर्तमान अवस्थामा निर्वाचन नै देशको निर्विकल्प समाधान भएको बताए।

आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गतको बन्दसूची पेस गर्ने विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरूका लागि आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको समापनसत्रलाई सम्बोधन गर्दै भण्डारीले आयोग निर्वाचन सम्पन्न गराउन पूर्ण रूपमा तयार रहेको बताए।

उनले निर्वाचनसँग सम्बन्धित राजनीतिक विवाद र विषयहरू राजनीतिक रूपमै समाधान हुने र आयोगले राजनीतिक तथा कानुनी रूपमा समाधान भइसकेका निर्णयहरूलाई कार्यान्वयन गर्ने स्पष्ट गरे। आयोगले कुनै पनि राजनीतिक बहसमा प्रवेश नगरी संविधान र कानुनअनुसार आफ्नो दायित्व निर्वाह गर्ने उनको भनाइ थियो।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले समानुपातिक प्रणालीको बन्दसूची पेस गर्दा जाति, भाषा, वर्ग र भूगोलको समुचित प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दलहरूलाई विशेष ध्यान दिन आग्रह गरे। साथै, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन जारी हुने निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्न पनि उनले सबै पक्षलाई स्मरण गराए।

उनका अनुसार निर्वाचन प्रक्रियाप्रति अनावश्यक आशंका र भ्रम फैलाउनुको सट्टा लोकतान्त्रिक अभ्यासलाई सफल बनाउने दिशामा सबैको साझा प्रयास आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *