“सत्ताको रसास्वादनका लागि होइन, विवश भएर जिम्मेवारी लिएको हुँ”: प्रधानमन्त्री कार्की

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफू परिस्थितिले विवश बनाएकी भएकाले प्रधानमन्त्री पदमा आएको स्पष्ट पार्दै सत्ताको लोभ वा रहर नभएको प्रष्ट गरेकी छन्। आइतबार सिंहदरबारमा पदभार ग्रहणपछि कर्मचारी र सुरक्षाकर्मीलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणदेखि सेवा प्रवाहलाई सहज बनाउन नयाँ पुस्ताको अपेक्षाअनुसार अघि बढ्ने अठोट व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘रहरले म आएको होइन, सडक र जताततैबाट जिम्मा लेऊ भनेर सुझाव आयो । म विवश हुनुप¥यो । सत्ताको रसास्वादन गर्न आएको होइन ।’

उनले जेनजीको २७ घण्टाको आन्दोलनका कारण देशभर व्यापक जनधनको क्षति भएको उल्लेख गर्दै प्रहरी बिट, अदालत, सिंहदरबारजस्ता संवेदनशील संरचनासमेत जलेर नष्ट भएको बताइन्। ‘जति पनि रेकर्ड र प्रमाण नष्ट भएर अर्को ठुलो समस्या भयो । भौतिक भवनको क्षति बनाउन सकिन्छ तर रेकर्ड नष्ट हुँदा हामी शून्यमा छौँ,’ उनले भनिन्।

प्रधानमन्त्री कार्कीले सुरक्षा वाहनसमेत खरिद नगरी नहुने अवस्था आएको बताउँदै हिंसा र आगजनी पूर्वनियोजित जस्तै संवेदनशील संस्थामाथि केन्द्रित भएको उल्लेख गरिन्। पछिल्लो दृश्य देखेर लाज लागेको बताउँदै उनले भनिन्, ‘नेपाली नै भएर गरेको हो भने त्यसलाई कसरी नेपाली भन्ने ?’

जनता र मुलुक विषम परिस्थितिमा रहेको उल्लेख गर्दै उनले सबै मिलेर पुनर्निर्माणमा लाग्न आह्वान गरिन्। ‘यो घटनामा षड्यन्त्र नै भएको हो कि भन्ने लाग्छ । अनुसन्धान हुन्छ । प्रहार र नोक्सान गर्नेहरूलाई छोड्ने अवस्था छैन । सबैको छानबिन हुन्छ,’ प्रधानमन्त्री कार्कीले प्रष्ट पारिन्।

उनले सरकारको उद्देश्य ६ महिनापछि निर्वाचित जनप्रतिनिधिलाई सत्ता सुम्पने रहेको बताइन्। ‘नयाँ आउने सांसद र मन्त्रीलाई सुम्पने अठोट गरेका छौँ । तर तपाईँहरू र सबैको साथ नभई सम्भव छैन, सहयोग गर्नुस्,’ उनले भनिन्।

प्रधानमन्त्री कार्कीले नेपालीहरूमा अपार क्षमता रहेको स्मरण गराउँदै भनेकी छन्, ‘जति क्षति भएको छ, आफ्नैतर्फबाट पहल गरेर त्यो पूरा किन नगर्ने ? तराईमा बाँसका भाटा जोडेर कामचलाऊ किन नगर्ने ? नेपालीहरूमा क्षमता छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *