समाजवादउन्मुख अर्थतन्त्रले सामाजिक विभेद अन्त्य गर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सामाजिक तथा सांस्कृतिक विभेद अन्त्य गरी समानतामूलक समाज निर्माण गर्न समाजवादउन्मुख अर्थतन्त्र आवश्यक भएको बताएका छन् ।

पार्टी निकट अखिल नेपाल महिला सङ्घले राजधानीमा आयोजना गरेको प्रशिक्षण तथा तीज विशेष कार्यक्रममा बोल्दै उनले समानता, न्याय, मानव अधिकार, समानुपातिक र समावेशी प्रतिनिधित्वका आधारमा समाजवादउन्मुख अर्थतन्त्रको विकास गर्न सकिने बताए ।

नेपालले संविधानले मार्गदर्शन गरेको प्रणालीले महिलाको राजनीतिक र प्रशासनिक सहभागिता बढाउँदै ल्याएको र शिक्षा, स्वास्थ्य तथा उद्यमशीलताले सम्पत्तिमाथिको स्वामित्वमा सकारात्मक परिवर्तन गरेको उल्लेख गरे । साथै, महिला हिंसा न्यूनीकरणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भइरहेको प्रयासलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

महिला सङ्घकी इन्चार्ज तथा पार्टी उपाध्यक्ष जयन्ती राईले तीज पर्वको मौलिक विशेषता संरक्षण, सांस्कृतिक पक्षको प्रवर्द्धन र विकृति हटाउन महिलाहरू सचेत हुनुपर्ने आवश्यकता औंल्याइन् । कार्यक्रममा नाचगानसहित विविध सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *