ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पूर्णता दिन पार्टी एकता गरिएकाे बताएका छन् । बिहीबार ताप्लेजुङमा नेपाली कम्युनिस्ट पार्टीद्वारा आयोजित जिल्लास्तरीय पार्टी एकता सभालाई सम्बोधन गर्दै उनले जेन-जी आन्दोलनपछि मुलुक सङ्कटमा परेको अवस्थामा राष्ट्रलाई जोगाउन तथा समाजवादी मार्गमार्फत क्रान्ति सम्पन्न गर्ने मुख्य उद्देश्यले पार्टी एकता गरिएको बताए ।
गजुरेलका अनुसार तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत विभिन्न वामपन्थी दलहरूले समाजवादी मार्गमा सैद्धान्तिक सहमति बनाएर एकीकृत हुँदै नेपाली कम्युनिस्ट पार्टी गठन गरेका हुन् । विपक्षीहरूले चुनाव जित्ने उद्देश्यले मात्र एकता भएको भ्रामक प्रचार गरिरहे पनि, देशकै पहिलो शक्तिशाली पार्टी बन्ने सम्भावना बढेपछि उनीहरू आत्तिन थालेको आरोप लगाए ।
गजुरेलले पार्टी एकता चुनाव जित्ने साधन नभई समाजवादी क्रान्तिको माध्यम भएको भन्दै सबै वामपन्थीलाई एकताबद्ध भई नेपाली कम्युनिस्ट पार्टीमा ध्रुवीकृत हुन आग्रह गरे। उनका अनुसार समयअनुकूल पार्टी, नेतृत्व र संरचना सुधार्ने प्रयास जारी छ तर रुपान्तरण गर्न नचाहाने केही नेताहरू भने एकतामा सामेल नभएकाे पनि जानकारी दिए।
यस्तै, पार्टीका अर्का नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि समाजवादलाई मार्गदर्शन मान्दै वाम दलहरूबीच एकता गरिएको बताए। ठूलो र सुदृढ कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यले एकता भएको उल्लेख गर्दै उनले नेपाली कम्युनिस्ट पार्टी देशको पहिलो दल बन्ने सम्भावना उच्च रहेको दाबी गरे ।
राईले एमालेभित्र पनि रुपान्तरण चाहनेहरूको ठूलो संख्या रहेको भन्दै आगामी महाधिवेशनपछि धेरै नेताहरू नेकपामा आउने सम्भावना रहेको खुलासा गरे। केपी शर्मा ओलीको स्वेच्छाचारी प्रवृत्तिका कारण एमालेभित्र समस्या चर्किएको र परिवर्तन चाहने नेताहरू विद्रोहको तयारीमा रहेको र उनीहरू नेकपामा सामेल हुन सक्ने उनको दाबी छ।
कार्यक्रममा प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो), केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री, खेमबहादुर वनेम, असल पन्दाकलगायतका नेताहरूले पनि सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टी निर्माण वर्तमान समयको आवश्यकता र युगको माग भएको धारणा राखेका थिए।
