समृद्धिको अभिभारा अब नेकपाको काँधमा : डा. भीम रावल

काठमाडौं । मातृभूमि जागरण अभियानका प्रस्तावक तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले मुलुकलाई आर्थिक र सामाजिक रूपमा समृद्ध बनाउने ऐतिहासिक जिम्मेवारी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पूरा गर्नुपर्ने बताएका छन् ।

बुधबार राजधानीमा आयोजित मातृभूमि जागरण अभियान र नेकपाबीचको एकता घोषणासभालाई सम्बोधन गर्दै रावलले राष्ट्रिय सुरक्षा, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मार्गमा नेकपाले अग्रणी भूमिका खेल्नुपर्ने बताए ।

उनका शब्दमा — “नेपालमा अपार प्राकृतिक सम्पदा छन्, त्यसमा नेपालीको हकअधिकार सुनिश्चित गर्दै समृद्धिको रेखा कोर्नु नै हाम्रो लक्ष्य हो । देशको रक्षा र जनताको सुरक्षा पहिलो कर्तव्य हो । नेकपाले स्पष्ट राष्ट्रिय सुरक्षा नीति ल्याएर देशको सीमा, सम्पत्ति र स्वाधिनताको ग्यारेन्टी गर्नुपर्छ ।”

नेकपाकी नेतृ पम्फा भुसालले समाजवादी रूपान्तरणको दिशा देखाउँदै भनिन्, “अब क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर समाजवादी क्रान्तिको नेतृत्व गर्ने अभिभारा नेकपाको काँधमा आएको छ । केही दिनअघि १० कम्युनिष्ट घटकबीच, आज मातृभूमि जागरण अभियानबीचको एकता त्यसै दिशाको अर्को महत्वपूर्ण कदम हो । जबसम्म एउटै कम्युनिष्ट पार्टी बन्दैन, एकता प्रक्रिया निरन्तर चलिरहन्छ ।”

त्यस्तै, एमालेका केन्द्रीय सदस्य प्रकाशबहादुर शाहले नेकपामा समाहित हुँदै भने, “एमालेले पुष्पलालको आदर्श र मदन भण्डारीको विचारलाई संस्थागत गर्न सकेन । अब ती अधूरा सपना पूरा गर्न हामी एक भएका हौं ।”

नेकपा श्रमजीवी महासचिव प्रमोदनारायण यादवले जनजीविकाको समाधान र सामाजिक न्याय स्थापना गर्ने शक्ति नेकपा मात्रै भएको उल्लेख गर्दै एकता अभियानलाई जनस्तरसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसरी, विभिन्न कम्युनिष्ट घटकबीचको एकतासँगै नेपाली कम्युनिष्ट आन्दोलन नयाँ उचाइतर्फ उन्मुख भएको उद्घोष गर्दै रावलले समृद्ध, स्वाधीन र समाजवादी नेपाल निर्माणको यात्रामा नयाँ अध्याय सुरु भएको घोषणा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *