काठमाडौँ । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्की आज आइतबारदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्दैछिन्।
जेनजी आन्दोलनको दबाबपछि गएको शुक्रबार साँझ प्रधानमन्त्रीमा शपथग्रहण गरेकी कार्कीले आइतबार बिहान ११:३० बजे सिंहदरबार पुगेर कार्यभार ग्रहण गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
आन्दोलनको क्रममा भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगजनी भएको कारण त्यसको सञ्चालन गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनबाट हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई ६ महिनाभित्र नयाँ निर्वाचन गर्ने सर्तमा प्रधानमन्त्री नियुक्त गरेका हुन्।
आगजनीबाट क्षतिग्रस्त सिंहदरबारका अन्य मन्त्रालयहरूमा पनि सरसफाइपछि क्रमशः काम सुरु गर्ने तयारी भएको छ। सिंहदरबार आजदेखि पुनः लयमा फर्किने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव तथा प्रवक्ता रविलाल शर्माले जानकारी दिएका छन्।
तत्कालका लागि प्रधानमन्त्री कार्यालय आगलागीबाट जोगिएका पुरानै सामग्रीबाट सञ्चालन गरिने भएको छ।