काठमाडौं । सरकारले देशभरका १० जिल्लामा रहेका ९४ हजार ५२७ गरिब परिवारको अन्तिम सूची औपचारिक रूपमा स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरिबी पहिचान कार्यक्रमअन्तर्गत संकलित तथ्यांकलाई प्रमाणित गर्दै सूची सार्वजनिक गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार इलाम, झापा, मोरङ, सुनसरी, कास्की, चितवन, तेह्रथुम, पर्वत, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) गरी १० जिल्लाका परिवारहरू अन्तिम रूपमा सूचीकृत भएका छन्।
यस निर्णयसँगै पहिचान भएका परिवारलाई लक्षित सामाजिक सुरक्षा, सहुलियत कार्यक्रम र सेवा पहुँचमा प्राथमिकता दिने सरकारको तयारी रहेको खरेलले बताए।
