आजदेखि सोह्र श्राद्ध प्रारम्भ, अपराह्नकालमै सम्पन्न गर्नुपर्ने शास्त्रीय मान्यता

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि शुरु भएको छ । पितृलाई तर्पण, पिण्डदान र सिदादान गर्ने यो धार्मिक अनुष्ठान अपराह्नकालमै सम्पन्न गर्नुपर्ने शास्त्रीय नियम रहेको छ ।

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानपूर्वक तर्पण, सिदादान र पिण्डदान गरिन्छ । यसैले यसलाई ‘सोह्र श्राद्ध’ वा ‘पितृ पक्ष’ भनिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार सम्भव भए सबै सोह्र दिन श्राद्ध गर्नुपर्छ। नसक्नेले पञ्चमीदेखि औँशीसम्म, वा कम्तीमा पिताको मृत्युतिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय वचन छ। यदि तिथिमा गर्न नसकिएमा अष्टमी, द्वादशी वा औँशीमा गर्ने व्यवस्था छ। सूर्य वृश्चिक राशिमा प्रवेश गर्नु अघिसम्म श्राद्ध नगरे पितृले सराप दिने विश्वास रहेको छ।

समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलका अनुसार सोह्र श्राद्ध अपराह्नकालमै गर्नुपर्छ। दिनमानलाई पाँच भागमा विभाजन गरिएकोमा चौथो भाग अपराह्न भएकाले यस समयमा पिण्डदान गर्नु शास्त्रीय मान्यताको पालना हो। मध्याह्नकाल वा बिहानै श्राद्ध गर्न नहुने उनले स्पष्ट पारे।

श्राद्ध गर्दा एउटै ब्राह्मणले धेरै घरमा टीका लगाउनु पनि शास्त्रविरुद्ध मानिन्छ। यसरी गरिने श्राद्ध पितृले स्वीकार नगर्ने विश्वास छ।

पितृ पक्षमा विशेषगरी काठमाडौँ उपत्यकाको गोकर्णेश्वर उत्तरगया, नुवाकोट–रसुवाको बेत्रावती, चितवन–तनहुँ–नवलपरासीको देवघाट र त्रिवेणी लगायतका तीर्थस्थलमा श्राद्ध गर्नेहरूको भीड लाग्छ। आफ्नो घरभन्दा बाहिर बस्नेहरूले यी तीर्थमा गई श्राद्ध गर्नुपर्छ भन्ने मान्यता छ।

सोह्र श्राद्ध सम्पन्न भएपछि दुर्गा पक्ष अर्थात् बडादशैँ सुरु हुने धार्मिक विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *