आज छठको दोस्रो दिन ‘खरना’ : अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै

काठमाडौँ । सूर्य उपासना र आराधनाको महान् पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ। पर्वको दोस्रो दिन पर्ने ‘खरना’ विधि आज व्रतालुहरूले विधिपूर्वक सम्पन्न गर्दैछन्।

मधेस, तराई र मिथिलाञ्चलका गाउँ–सहरका पोखरी, नदीघाट र तालतलैयाहरू आकर्षक रूपमा सजाइएका छन्। स्थानीय बासिन्दा, युवा तथा व्रतालुहरूले घाटको सरसफाइ गरी रंगीन बत्ती, पण्डाल र टेन्ट लगाएर छठ पर्व मनाउने तयारी गरेका छन्। यसले सम्पूर्ण क्षेत्रलाई धार्मिक र सांस्कृतिक उत्सवको रौनकले उज्यालो बनाएको छ।

खरना दिनमा व्रतालुहरू दिनभर निराहार बसेर साँझ अस्ताउँदो सूर्यलाई खीर, रोटी, फलफूल, ठेकुवा लगायतका सामग्री अर्पण गरी पूजा गर्छन्। त्यसपछि ती प्रसाद ग्रहण गरी चार दिनसम्म चल्ने छठ पर्वको मुख्य दिन अर्थात् सन्ध्या अर्घ्य र प्रातः अर्घ्यका लागि तयारी सुरु गरिन्छ।

घर–घरमा पूजा सामग्रीको जोहो गर्न व्रतालु र उनका परिवारजन व्यस्त देखिएका छन्। बजारहरूमा बाँसका डोला, सुप, फलफूल, नयाँ कपडा र प्रसादका सामग्री खरिद गर्न भक्तजनको भीड बढेको छ।

छठ पर्वले केवल धार्मिक आस्था होइन, सूर्य, जल, माटो र मानवबीचको सहअस्तित्वको प्रतीकका रूपमा नेपाली समाजमा एकता, विश्वास र संस्कृतिको सुगन्ध फैलाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *