काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एक महिने स्वस्थानी व्रत तथा माघ स्नान आजदेखि विधिवत् सुरु भएको छ । यस अवधिमा वैदिक सनातन धर्मावलम्बीहरूले घरघरमा स्वस्थानी व्रत कथा वाचन गर्दै विभिन्न शक्तिपीठमा पूजा–आराधना गर्ने परम्परा छ ।
सतीदेवीका अङ्ग पतन भएका स्थानमा देवी–देवताको बास रहेको धार्मिक विश्वासका आधारमा यो परम्परा चलिआएको हो । आजदेखि श्रद्धालुहरूले बिहान माघ स्नान गरी मध्याह्नमा पार्वतीसहित महादेवको पूजा र बेलुकी स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्य कथावाचन सुरु गरेका छन् । कुल परम्पराअनुसार कसैले बिहान त कसैले बेलुकी कथा वाचन गर्ने चलन छ ।
स्वस्थानी व्रतको सुरुआत पौष शुक्ल चतुर्दशीका दिन नङ काटी स्नान गरी शुद्ध वस्त्र धारण गरेर गरिन्छ । एक महिनासम्म व्रत बस्ने बर्तालुले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता, विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्य, वस्त्रलगायत सामग्री चढाई भगवतीलाई अघ्र्य अर्पण गर्ने विधि छ । व्रतको अन्त्यमा सय रोटी फलाहार गरी रातभर जाग्राम बस्ने र देवीको माहात्म्य सुन्ने–सुनाउने परम्परा रहिआएको छ ।
स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ । उत्तरायणपछिको समय ध्यान, योग र आत्मसाधनाका लागि उपयुक्त मानिने भएकाले आफ्नो आत्मासँग सम्पर्कको
अभ्यासलाई पनि स्वस्थानी भनिएको विश्वास छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार स्कन्द पुराणमा स्वस्थानी देवीलाई सुवर्ण वर्णकी, त्रिनेत्रधारी, चार हात भएकी देवीका रूपमा वर्णन गरिएको छ ।
धार्मिक विश्वासअनुसार विधिपूर्वक स्वस्थानी व्रत गरेमा रोगव्याध निको हुने, बिछोडिएका जोडीको पुनर्मिलन हुने र मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।
सत्ययुगमा पार्वतीले महादेवलाई पति पाउन स्वस्थानी व्रत गरेको र नाग–नागिनीको पुनर्मिलन भएको कथा स्वस्थानी ग्रन्थमा उल्लेख छ । गोमा ब्राह्मणीको व्रतबाट पुत्र वियोग टरेको र छोरा नवराज साँखु क्षेत्रको राजा बनेको कथा पनि प्रचलित छ ।
यसै अवसरमा आजदेखि उपत्यकाको उत्तर–पूर्वी क्षेत्रमा रहेको साँखुस्थित शालिनदीमा माघ स्नानसहित माधवनारायण मेला पनि सुरु भएको छ । माघ महिनामा शालिनदीमा स्नान गरी माधवनारायण र श्रीस्वस्थानीको दर्शन गरे पाप पखालिने र पुण्य प्राप्त हुने विश्वासका कारण प्रत्येक वर्ष लाखौँ भक्तजन यहाँ आउने गर्छन् ।
शालिनदी व्यवस्थापन समितिका अनुसार यस वर्षको मेलाका लागि सबै तयारी पूरा भएको छ ।
देशका विभिन्न भागका साथै छिमेकी भारतबाट समेत श्रद्धालु भक्तजन शालिनदी पुग्ने क्रम सुरु भइसकेको छ ।
