काठमाडौं । नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमी आज देशभर दुर्गा भवानीको विशेष पूजाआराधना गर्दै भव्यरूपमा मनाइँदै छ । आश्विन शुक्ल अष्टमीका दिनलाई देवी दुर्गालाई शक्तिशाली बनाउने दिन मानिँदै आएको धर्मग्रन्थमा उल्लेख भएकाले यस दिनको महत्व अत्यधिक रहेको छ ।
आज महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिनुका साथै उपत्यका भित्र गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवतीलगायतका शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेको चण्डेश्वरीदेखि ताप्लेजुङको पाथीभरासम्मका शक्तिपीठमा पनि बलिसहित विशेष पूजा सम्पन्न भइरहेको छ ।
धर्मशास्त्रअनुसार महाअष्टमीमा देवीलाई प्रसन्न पार्न विधिपूर्वक बलि दिने परम्परा छ । पशु बलि दिन नसक्नेहरुले भने काँक्रो, घिरौँला, मूला, नरिवल आदि चढाई पूजा गर्ने गर्छन् । यसै दिन देवीका शस्त्रअस्त्र र विभिन्न साधनलाई पनि देवीको स्वरूप मानी सरसफाइ गरी पूजाआजा गर्ने गरिन्छ ।
आज राति कालरात्रि स्वरूपमा देवीको विशेष पूजा र बलि विधि सम्पन्न गरिँदा यसको धार्मिक महत्व झन् बढ्ने विश्वास गरिन्छ । महाअष्टमीलाई शौर्य, शक्ति र श्रद्धासँग जोडेर विशेषरूपमा मनाउने परम्परा निरन्तर रहँदै आएको छ ।