आज महानवमी पर्व: नवदुर्गा पूजा, पशुबलि र तलेजु भवानी मन्दिर खुला

काठमाडौँ । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ ।

यस दिन नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरिँदै घटस्थापनाका दिन राखिएको जमरा शक्तिपीठहरूमा चढाइन्छ । दसैँघर, कोत र विभिन्न देवी मन्दिरहरूमा दुर्गा भवानीको विशेष पूजा, दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठसँगै पशुबलि दिने परम्परा छ ।

पशुबलि नदिने भक्तहरूले भने कुभिण्डो, काँक्रो, घिरौँला, मुला र जटा नरिवल बलि दिएर पायस अर्पण गर्छन् । कतिपय स्थानमा महाष्टमीका दिन बलि दिइए पनि महानवमीका दिन मार हान्ने प्रचलन छ ।

मार्कण्डेय पुराणअनुसार यसै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले महानवमीलाई विशेष महत्त्व दिइन्छ । कतिपय शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने चलन पनि रहिआएको छ ।

देशभरका शक्तिपीठमा आज भक्तजनको भीड लागेको छ । नवदुर्गामध्ये नवौँ देवी सिद्धिदात्रीको पूजा आज विशेष रूपमा गरिँदैछ भने महाकाली, महालक्ष्मी र महासरस्वतीको समेत आराधना हुन्छ । कन्यापूजाको परम्परा आजै सम्पन्न हुन्छ ।

यस अवसरमा नेपाली सेनाका ब्यारेक, गुल्म तथा कोतहरूमा बाजागाजासहित कोतपूजा र जङ्गी निशाना पूजाको परम्परा निरन्तर रहन्छ ।

तलेजु भवानी मन्दिर आज मात्र खुल्दै
हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर वर्षमा एक दिन मात्र—महानवमीकै दिन भक्तजनका लागि खुल्ने गर्दछ । भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

तलेजु भवानीलाई फूलपातीकै दिन दरबारको मूलचोकमा ल्याइए पनि विजयादशमीको बिहान मात्र मूल मन्दिरमा फर्काइने परम्परा छ ।

यसअघि महाअष्टमीको राति मूलचोकमै कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलि दिइएको थियो । राज्य सञ्चालनमा शक्ति प्राप्त होस् भन्ने विश्वासका साथ तान्त्रिक विधिबाट पूजा गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *