गोरखा । बडादसैँको सातौँ दिनको विशेष परम्परा अनुसार गोरखा दरबारको दसैँघरबाट आज बिहान काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली विधिवत् बिदाइ गरिएको छ। बिहान ठीक ७ः३० को शुभसाइतमा सुसारेहरूले पूजाअर्चना गर्दै गोरखाकाली मन्दिर परिसरमा बाजागाजासहितको ¥याली निकालेर फूलपातीको विदाई गरे।
गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकका अनुसार बा २ झ ३८८२ नम्बरको सरकारी सवारीमा राखी फूलपाती काठमाडौँ पठाइएको हो। दरबारका सुसारेहरूले परम्परागत डोलीमा राखेर गाडीमा चढाइ हनुमानढोकातर्फ प्रस्थान गराएका हुन्।
गोरखाकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले बताएअनुसार गोरखाबाट पठाइएको फूलपाती आज साँझ हर्षबढाइका साथ हनुमानढोका दरबारमा भित्र्याउने चलन रहेको छ। तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोकाबाट शासन प्रारम्भ गरेयता यो परम्परा निरन्तर चल्दै आएको हो।
फूलपातीको यो ऐतिहासिक बिदाइ कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरप्रमुख कृष्णबहादुर रानामगरलगायत स्थानीय प्रतिनिधिहरू सहभागी थिए। गोरखा दरबारको दसैँघरमा पनि आज साँझ विशेष पूजा र हर्षोल्लासका साथ फूलपाती भित्र्याउने तयारी गरिएको छ।