काठमाडौँ । आज आश्विन शुक्ल दशमी अर्थात् विजयादशमी पर्व, बडादसैंको मुख्य दिन, हर्षोल्लासका साथ मनाइँदैछ । नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट रातो टीका तथा समृद्धिको प्रतीक पहेँलो जमरा लगाउने कार्य आजदेखि सुरु भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ११ बजेर ५३ मिनेटमा टीका थाप्ने साइत उत्तम मानिएको छ । तर विजयादशमी आफैँमा शुभ दिन भएकाले सामान्यतया सबैले साइत खोज्न आवश्यक नपर्ने धार्मिक विश्वास छ । यसअघि बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत परेको समितिले जनाएको छ ।
घर–घरमा घटस्थापनाको दिन राखिएको घटबाट वैदिक विधिपूर्वक अभिषेक गरी टीका जमरा लगाउने परम्परा छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट टीका प्रसाद ग्रहण गर्न सक्ने धार्मिक मान्यता छ ।
यस पर्वलाई असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ । धार्मिक विश्वासअनुसार त्रेतायुगमा भगवान् रामले आजकै दिन रावणमाथि विजय प्राप्त गरेकाले यस दिनलाई विजयको प्रतीकका रूपमा पर्वका रूपमा मनाउन थालिएको हो ।
आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, आमा–बाबा र अन्य मान्यजनको हातबाट टीका–जमरा थापी यश, आयु, ऐश्वर्य वृद्धि तथा कार्यक्षमतामा वृद्धिको आशीर्वाद लिने चलन छ । टीका लगाइदिँदा विशेष मन्त्र उच्चारण गरी पुरुषलाई आयु, बल, ज्ञान, ऐश्वर्य र कीर्तिको आशीर्वाद दिइन्छ भने महिलालाई दुर्गा देवीको स्वरूप मानी विशेष स्तोत्रद्वारा आशीर्वाद दिने परम्परा छ ।
यसरी नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा थापेर विजयादशमी आज देशभर परिवार र समाजसँगको आत्मीयता बाँड्ने दिनका रूपमा उल्लासपूर्वक मनाइँदैछ ।