अविनाश चौधरी
धनगढी। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित गुरही चौकमा थारु समुदायले आज हर्षोल्लासपूर्वक गुरही पर्व मनाएका छन् ।
सखी सञ्जाल लगायत थारु समुदाय सम्वद्ध विभिन्न संघ संगठन तथा संस्थाहरुको संयुक्त आयोजनामा नाचगानसहित गुरही पर्व मनाइएको हो । सो अवसरमा गुरही चौकमा स्थापना गरिएको गुरही (गाइनेकिरा) को मूर्ति अनावरण गरिएको छ । प्रदेशको सामाजिक विकासमन्त्री मेघराज खड्काले गुरहीको मूर्ति अनावरण गर्नुभयो ।
सो अवसरमा उहाँले संस्कृति र प्रकृतिको सम्मान सबैले गर्न आवश्यक रहेको चर्चा गर्नुभयो । उहाँले थारु समुदायको गुरही पर्वले एकता र मेलमिलाप बढाएको उल्लेख गर्दै मेलमिलापले मात्रै समाजको विकास हुने बताउनुभयो ।
त्यस्तै, धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले पहिले गाउँघरमा मात्रै सीमित गुरही पर्व अब सिंहदरबारसम्म पुगिसकेको बताउनुभयो । उहाँले गुरही चौकमा रहेको गुरहीको मूर्ति संरक्षण गर्नु सबैको दायित्व रहेको औंल्याउनुभयो । भोलिका दिनमा धनगढी उपमहानगरपालिकामा गुरही डिजिटल बन्ने र गुरही चौकको नक्साङ्कन हुने रानाको भनाइ थियो ।
कार्यक्रममा विभिन्न थारु अगुवाहरुले गुरही पर्व र थारु समुदायको रीति, संस्कृतिको बारेमा चर्चा गरेका थिए । विशेष गरेर बालबालिकाको पर्व मानिएको गुरही पर्वमा गुरही पूजा गर्नाले रोगव्याधीले नसताउने, महामारी नफैलिने, प्राकृतिक प्रकोप, सर्प, बिच्छी लगायतबाट जोगिने जनविश्वास रहेको छ ।
यसैगरी, विभिन्न थारु गाउँहरुमा हर्षोल्लासपूर्वक गुरही पर्व मनाइएको छ । यो पर्वमा गुरही (गाइनेकीरा) को प्रतिकको रुपमा कपडाको पुत्ला बनाउने गरिन्छ । पर्वको दिन विहानैदेखि महिलाले कपडाको गुरही गुरहा बनाउने गर्दछन् । यसैगरी, केटाहरुले गुरही ठटाउनका लागि सोंता बनाउने गर्दछन् । साँझपख गाउँको दक्षिणतिरको चौक वा सार्वजनिक स्थान वा सडकमा गुरही बिसर्जन गर्ने चलन छ ।
गुरही बिसर्जनको क्रममा मौलिक पोशाकमा सजिएका युवतीहरुले कपडाको गुरही फाल्ने र केटाहरुले “दे घुघ्री, दे घुघ्री” भन्दै सोंटाले ठटाउने चलन छ । त्यसपछि बालिका वा केटीहरुले आफूसँग ल्याएको घु्घ्री (मकै, चना, मटरको भुजा) प्रसादको रुपमा बाँडेर खाने चलन रहेको छ ।
भुसुना, लामखुट्टे जस्ता महामारी फैलाउने कीरालाई गुरहीले खाएर नियन्त्रण गरी मान्छेलाई महामारीबाट जोगाउने कार्य गरेकाले गुरही पूजा गरेर गुरही पर्व मनाउने चलन भएको थारु समुदायका अगुवाले बताउने गरेका छन् ।