नेवार संस्कृतिको गर्व : यःमरी अब अभौतिक सांस्कृतिक सम्पदामा

ललितपुर । नेवार समुदायको विशेष परिकार यःमरीलाई नेपाल सरकारले अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत गरेको छ । ललितपुर महानगरको पहल र नेवार समुदायको अथक प्रयासपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउन २३ गते औपचारिक रूपमा यःमरीलाई सूचीमा समावेश गरेको हो ।

मन्त्रालयका अनुसार गत वर्ष आह्वान गरिएको सूचीकृत आवेदनमा १०५ वटा निवेदन परेकोमा आवश्यक प्रक्रिया पूरा गरेको कारण यो वर्ष केवल यःमरी मात्र छनोटमा परेको हो । ललितपुर महानगरपालिकाका सबै २९ वडाका नेवार समुदायले संयुक्त रूपमा दिएको आवेदनलाई मूल्याङ्कन समितिले सकारात्मक सिफारिस गरेको थियो ।

महानगर प्रमुख चिरीबाबु महर्जनले विज्ञप्ति जारी गर्दै सम्पूर्ण समुदायलाई धन्यवाद दिंदै यःमरीलाई अब विश्व अभौतिक सम्पदा सूचीमा सूचीकृत गर्ने अभियानमा साथ–सहयोगको अपेक्षा व्यक्त गरे ।

नेपाल भाषामा “यःमरी” को अर्थ मन पर्ने रोटी हो । परम्परागत रूपमा चामलको पिठो र चाकु (गुड) प्रयोग गरी बनाइने यो परिकार अहिले काठमाडौं उपत्यका भित्र मात्र नभई देशविदेशमा समेत लोकप्रिय बन्दै गएको छ । किंवदन्तीअनुसार पनौतीमा किसान दम्पतीले आफ्ना पाहुनालाई चामल र चाकु प्रयोग गरेर बनाएको यो रोटी मन परेपछि यसलाई मन पर्ने रोटी अर्थात् यःमरी भनिन थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *