बैतडी । हुलाक टिकट, नगरपालिकाको लोगो र पुरातात्त्विक विभागको संरक्षण सूचीमा रहेको पञ्चदेवलमा भेटिएका ऐतिहासिक ढाल–तरवार, आम्खोरा, गाग्री, माटोका भाँडा, धान र सुनचाँदी जस्ता वस्तुको संरक्षण र अनुसन्धान नहुँदा धर्मशालामा अलपत्र छाडिएको छ ।
दशरथ चन्द नगरपालिका–४, देवलहाटमा रहेको पञ्चदेवलमा भेटिएका ऐतिहासिक शिलालेख, ढाल तरवार, सुनचाँदी र माटाका भाँडाकुँडाको संरक्षण गर्ने निकाय नहुँदा देउतालाई साक्षी राखेर शिवमन्दिरको धर्मशालामा राखिएको स्थानीयवासी ईश्वरीदत्त भट्टले बताए । आम्खोरामा भेटिएको धान र त्यसभित्र सुन/चाँदी भेटिए पनि धान भने मुसाले खान थालेको उनको भनाइ छ ।
पुरातत्व विभागले पञ्चदेवलको जीर्णोद्धार एक दशकअघि ऐतिहासिक शिलालेख, सुनचाँदी र ढाल–तरवारलगायतका वस्तु फेला परे पनि अहिलेसम्म गणना गरेर नम्बर राख्ने काम हुन सकेको छैन । सखर वास्तुशैलीमा निर्मित पञ्चदेवलमा फेला परेका वस्तु कुन समयमा कसले राखेको हो भन्ने कुरा अझै प्रष्ट हुन सकेको छैन ।
देवलमा भेटिएका ऐतिहासिक वस्तु स्थानीय तहको सरकारले संरक्षण गर्नुपर्ने पुरातत्व विभागका सङ्ग्रहालय अधिकृत एवं सूचना अधिकारी पुरुषोत्तम आचार्यले बताए । उनका अनुसार, “पञ्चदेवल पुरातत्व विभागको संरक्षण सूचीमा राखेर अध्ययन अनुसन्धान गर्ने काम भए पनि स्थानीय तहले सङ्ग्रहालय निर्माण गरेर ऐतिहासिक वस्तुको संरक्षण गर्नु जरुरी छ ।”
पञ्चदेवललाई दशरथ चन्द नगरपालिकाले आफ्नो लोगोमा राखेको भए पनि ऐतिहासिक वस्तुको संरक्षणमा भने कुनै कार्यक्रम सञ्चालन गर्न नसकेको देखिएको छ । नगरपालिकाको वन, वातावरण तथा पर्यटन शाखा प्रमुख अमर कार्कीले चालु आर्थिक वर्षमा छलफल गरेर कार्यक्रम बनाउने जानकारी दिए ।
स्थानीयका अनुसार पाण्डकालीन समयमै एकै रातमा निर्माण भएको पञ्चदेवल पाण्डव वनबास जाँदा निर्माण भएको भन्ने कथन प्रचलित छ । तर, सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले भने पञ्चदेवलको निर्माण १४ औँ शताब्दीमा श्रीदेवीको अगुवाइमा भएको दाबी गरेका छन् ।
उनका अनुसार, पञ्चदेवलको निर्माण साके संवत् १४२१ मा श्रीदेवीले आफ्ना पुत्र गरुड (ज्ञान) चन्दको स्मृतिमा गरेकी थिइन् । यो विषयलाई उनले पुरातात्त्विक प्रमाणका आधारमा १७ वर्ष अध्ययन गरेर ‘दी हिस्ट्री अफ मिडिभल डोटी’ (सङ्क १२३५–१७१२) नामक पुस्तकमा समेत उल्लेख गरेका छन् ।
रावल भन्छन्, “पञ्चदेवल पाण्डवले बनाएको होइन । यो त बैतडीकै श्रीदेवीले निर्माण गर्न लगाएकी हुन् । तत्कालीन डोटीका राजा रिपु मल्लले गरुड चन्दको हत्या गरेपछि उहाँकी आमा श्रीदेवीले हातहतियार र खरखजाना सुरक्षित राख्ने उद्देश्यले देवल बनाएकी थिइन् ।”
उनका अनुसार, खरखजानामा कछुवाको खप्परसमेत थियो, जुन अर्घ दिने बेला प्रयोग गरिन्थ्यो । उनले थपे, “गरुड चन्दको नाम ज्ञान चन्द भए पनि आकाशमा उडिरहेको गरुडलाई वाण हानेर खसाल्न सफल भएका कारण तत्कालीन मुगल सम्राट् जहाङ्गिरले उनलाई ‘गरुड चन्द’ उपाधि दिएका थिए ।”