भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११ः३९

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार भाइटीका लगाउने उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे रहेको छ।

समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तको संयोगमा यो साइत विशेष शुभ रहेको बताइएको छ। “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, तर सर्वसाधारणका लागि मध्याह्नकालमै टीका लगाउन कुनै बाधा छैन,” भट्टराईले स्पष्ट पारे।

यस वर्ष यमपञ्चक पर्व कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ। यसै दिनदेखि यमदीपदान सुरु हुने र धनतेरस (धन त्रयोदशी) पर्व पनि सोही दिन पर्ने समितिले जनाएको छ।

कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती मनाइनेछ। कात्तिक ३ गते सोमबार बिहान कुकुर तिहार र नरक चतुर्दशी स्नान, बेलुकी लक्ष्मीपूजा र दीपमालिका गरिनेछ।
कात्तिक ४ गते मंगलबार बिहान दान स्नान, दिउँसोसम्म औँशी तिथि रहनेछ।
कात्तिक ५ गते बुधबार गाई, गोरु र आत्म (म्ह) पूजा तथा नेवार समुदायको नयाँ वर्ष (नेपाल संवत् ११४६) मनाइनेछ।

‘कृत्यवाटिका’ लगायत शास्त्रीय ग्रन्थ अनुसार आत्म (म्ह) पूजा कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा गर्नुपर्ने उल्लेख छ। समितिले स्वीकृति दिएका तीन पञ्चाङ्गका पञ्चाङ्गकार— सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशीले पनि सोही तिथिमा आत्म पूजा र नेपाल संवत् प्रारम्भ हुने उल्लेख गरेका छन्।

कात्तिक ६ गते बिहीबार भने भाइटीका वा भ्रातृपूजा (नेवारी भाषामा किजा पूजा) मनाइनेछ। मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म द्वितीया तिथि रहने भएकाले मध्याह्नकालमा टीका लगाउन शुभ मानिएको समितिले जनाएको छ।

समितिका अनुसार “भ्रातृपूजा” शब्दले दाजुभाइ दुवैलाई जनाउने भएकाले ज्येष्ठको क्रमानुसार दाजुभाइले टीकाटाला गर्नु शास्त्रसम्मत हुने बताइएको छ।

तिहार (यमपञ्चक) पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ। यस अवधिमा परिवारका सदस्यहरूको नाम उच्चारण गरी यमदीपदान गरिन्छ, जसबाट यमयातनाबाट मुक्ति पाइने शास्त्रीय विश्वास रहिआएको छ। काग र कुकुरलाई यमदूतका रूपमा मीठा परिकार अर्पण गरी श्रद्धा प्रकट गर्ने वैदिक परम्परा यस पर्वको विशेषता हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *