मिथिलाञ्चलभर छठ पर्व आरम्भ, जलाशयदेखि बजारसम्म छठमय माहोल

जनकपुरधाम । श्रद्धा, आस्था र शुद्धताको प्रतीक लोकआस्थाको महान् पर्व छठ शनिबारदेखि मिथिलाञ्चलसहित सम्पूर्ण तराई–मधेश क्षेत्रमा सुरु भएको छ । चार दिनसम्म चल्ने यो पर्वको आरम्भसँगै मधेशका हरेक सहर, गाउँ र टोलहरू छठमय बनेका छन् । जलाशय, पोखरी र नदीघाटमा सरसफाइ, सजावट र पूजास्थल निर्माणको काम तीव्र गतिमा अघि बढेको छ ।

जनकपुरधामको गङ्गासागर, धनुषसागर र अङ्गराजसर लगायतका पोखरीहरूमा घाट निर्माण, रङरोगन र बिजुली सजावटले धार्मिक माहोल झल्काएको छ । ठाउँ–ठाउँमा आकर्षक स्वागतद्वार बनाइएका छन् । पहिलो दिन व्रतालुहरूले नदी–पोखरीमा स्नान गरी शाकाहारी भोजन ग्रहण गर्दै ‘नहाय खाय’ विधिबाट छठको शुभारम्भ गरेका छन् ।

पञ्चमीका दिन उपवास बसी पूजाको तयारी गर्ने परम्परा छ भने षष्ठीका दिन अस्ताउँदो सूर्यलाई र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी छठपर्व समापन गरिन्छ । सूर्य आराधनासँग जोडिएको यो पर्वलाई प्रकृतिप्रतिको कृतज्ञता र जीवनप्रतिको आस्थाको प्रतीकका रूपमा लिइन्छ ।

राजविराजका पण्डित कमलकान्त झाका अनुसार छठमा व्रतालुले तामसी भोजन त्याग्ने र सन्तान, आरोग्य, समृद्धि तथा दीर्घायुका कामना गर्ने परम्परा छ ।

बर्दीबास, वीरगन्ज, सर्लाही, महोत्तरीदेखि पर्सासम्म अहिले छठघाटहरू रंगीन बत्ती, फूल र ब्यानरहरूले सजिएका छन् । बर्दीबासको कामेश्वरनाथ महादेव मन्दिर वरिपरिका पोखरीमा तीन सय पूजाघाट निर्माण भइरहेको छ । व्रतालु र भक्तजनको लागि प्रकाश, सरसफाइ र स्वागतद्वारमा करिब सात लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

वीरगन्जमा मात्र तीन दर्जनभन्दा बढी स्थानमा छठ मनाइँदैछ । घडिअर्वा पोखरी परिसरमा करिब २५ लाख रुपैयाँ खर्च गरेर भव्य सजावट गरिएको छ । यही अवसरमा कारागारभित्र रहेका २२ जना महिला कैदीले पनि छठ मनाइरहेका छन् । समाजिक सङ्घ–संस्थाले उनीहरूलाई सारी, फलफूल र पूजाका सामग्री उपलब्ध गराएका छन् ।

सर्लाही र महोत्तरीमा जनश्रमदान, वडा कार्यालय र स्थानीय निकायको सहयोगमा छठघाट सरसफाइ भइरहेको छ । गाउँ–गाउँमा “हम हूँ अरगिया देबई, हे छठी मईया” जस्ता गीतहरू गुन्जिरहेका छन्, जसले मिथिलाञ्चललाई धार्मिक उल्लासले भरिएको बनाएको छ ।

पौराणिक दृष्टिले छठ पर्वको उत्पत्ति द्वापरयुगमा पाण्डवकी माता कुन्ती र सन्तानका लागि सूर्य आराधना गर्ने परम्परासँग जोडिन्छ । सूर्य पुराणका अनुसार अत्रि मुनिकी पत्नी सती अनुसुयाले षष्ठी व्रत गरी दाम्पत्य सुख र सौभाग्य प्राप्त गरेकी थिइन् । त्यसै समयदेखि यो पर्व सन्तान, सुख, समृद्धि र मनोकामनाको प्रतीक बनेको विश्वास छ ।

छठपर्वले अहिंसा, समानता र छुवाछूतमुक्त समाजको सन्देश पनि दिन्छ । यसमा प्रयोग गरिने ढकिया, नाङ्लो, कोसिया, मालालगायतका सामग्री विभिन्न जात–जातिबाट तयार पारिने भएकाले यो पर्वले समावेशी समाजको भावना प्रस्फुटित गरेको देखिन्छ ।

तिहारको समापनसँगै मिथिलाञ्चल अहिले पूर्ण रूपमा छठमय बनेको छ — अस्ताउँदो र उदाउँदो सूर्यप्रति कृतज्ञता प्रकट गर्दै भोलि र पर्सि लाखौँ श्रद्धालुले छठीमैयाको आराधना गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *