सिरहा। बडादसैँको शुरुवातसँगै सिरहाको मिर्चैयामा मैथिली संस्कृतिको अद्वितीय झल्को दिने झिझियाँ नृत्य प्रतियोगिता सुरु भएको छ। “मिथिलाको सान, मैथिलीको पहिचान” भन्ने नारासहित मिर्चैया नगरपालिका–५ को गुदरी बजारस्थित श्रीदुर्गा मन्दिर प्राङ्गणमा आयोजना गरिएको यो प्रतियोगिता घटस्थापनाको दिनदेखि नौ दिनसम्म चल्ने नवरात्रि महोत्सवको मुख्य आकर्षण बनेको छ।
श्रीश्री १०८ श्री नवरात्रि महोत्सव मेला समितिद्वारा आयोजना गरिएको कार्यक्रममा स्थानीय युवतीहरूको जोशिलो सहभागिता छ। देवी दुर्गाप्रति भक्ति प्रकट गर्दै उनीहरूले टाउकोमा आगो बलिरहेको घैँटो राखी मिथिला क्षेत्रको पुरानो परम्परा झल्काउने अद्भुत नृत्य प्रस्तुत गरिरहेका छन्। समितिका अध्यक्ष किसुन साहका अनुसार उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई पुरस्कार र सम्मान प्रदान गरिनेछ।
झिझियाँ नृत्यको इतिहास सातौँ शताब्दीदेखि जोडिएको मानिन्छ। राति करिब ९ बजे कलशयात्रापछि धामीको मन्त्रसहित ‘छेकबार’ गरेर सुरु हुने यस नृत्यमा सहभागीहरू ब्रह्मस्थान पुगेर पूजा अर्चना गर्छन्। सिरहा मात्र होइन, धनुषा, सप्तरी, महोत्तरी, सर्लाही, बारा र पर्सासहित मिथिला क्षेत्रका अन्य जिल्लामा पनि यो नृत्य समान उत्साहका साथ मनाइन्छ।
साहका अनुसार सिरहामा झिझियाँ महोत्सवको प्रतियोगितात्मक शृङ्खला २०७० सालमा आरम्भ भई २०७३ सम्म चल्यो। पछिल्ला वर्षमा यो नृत्य प्रतियोगिता मात्रै होइन, सम्पूर्ण मिथिला समुदायको साझा सांस्कृतिक उत्सवका रूपमा विस्तार हुँदै गएको छ।
अष्टमीका दिन बोकाबलि र नवदुर्गाको पूजापाठसहितको यो महोत्सव सप्तमीदेखि एकादशीसम्म निरन्तर सञ्चालन हुने परम्परा छ। मिथिला संस्कृतिका जानकारहरूले यस नृत्यलाई केवल मनोरञ्जन मात्र नभई सांस्कृतिक पहिचानको जीवित प्रतीकका रूपमा संरक्षण गर्न आवश्यक रहेको बताउँछन्।