राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन: रथयात्रासहित सांस्कृतिक रीतिरिवाजमा सहभागिता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठकमा इन्द्रजात्राको मुख्य दिन अवलोकन गर्दै रथयात्रा र परम्परागत सांस्कृतिक कार्यक्रममा सहभागिता जनाए। यस क्रममा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला र दक्षिणा चढाएर जात्रा सुरु गराउने अनुमति दिएका थिए।

राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट पैदलमार्फत वसन्तपुर दरबारस्थित गद्दी बैठक पुगेका हुन्। उनीसँगै अन्य विशिष्ट व्यक्तित्वहरू पनि पैदलमार्फत गद्दी बैठक पुगेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए।

जात्रा अवलोकनमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललगायत मन्त्रीगण, उपसभामुख इन्दिरा राना, सांसद, प्रदेशसभा सदस्य, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, कूटनीतिक नियोगका प्रमुख तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी भए।

आज तल्लोटोलमा रथयात्रा सञ्चालन हुनेछ भने आइतबार माथिल्लो टोलमा रथयात्रा गरिने छ। भदौ २६ गते महिलाले मात्र रथ तानेर नानीचा यात्रा चलाउने परम्परा छ। सोही दिन बेलुकी राष्ट्रपति पौडेलले कुमारीबाट टीका र प्रसाद ग्रहण गरी खड्ग साट्ने परम्परा पालन गर्नेछन्।

इन्द्रध्वज पातन पछि स्थानीयवासीले लिङ्गोलाई टेकु दोभानस्थित बागमती किनारमा पुर्याएर सेलाउने परम्परा रहेको छ। जात्राको आरम्भ वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायत विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वज उत्थानबाट हुन्छ।

इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ भने रथयात्राको चलन राजा गुणकामदेवले सुरु गरेको इतिहास छ। वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको विधिपूर्वक पूजाआजा, लाखे नाच, दशअवतार नाच, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाच लगायत सांस्कृतिक झाँकी र नाचगानका कार्यक्रमले आज उपत्यकालाई सजाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *