मिलन चौतारी मोडर्न कन्या कलेजद्वारा फागुपूर्णिमा विशेष होली कार्यक्रम सम्पन्न

काठमाडौं । मिलन चौतारी मोडर्न कन्या कलेज, बानेश्वरले फागुपूर्णिमाको अवसर पारेर पूर्वसन्ध्यामा विशेष भेटघाट तथा सद्भाव आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ। आपसी प्रेम, सद्भाव र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरूले सप्त रङ्गी अबिर–रङ दलेर होली पर्व उल्लासपूर्वक मनाएका थिए।

कार्यक्रममा शिक्षाविद् तथा साहित्यकार डा. रामप्रसाद दाहालले नेपाली सांस्कृतिक मूल्य–मान्यताबारे चर्चा गर्दै होली पर्वको ऐतिहासिक तथा सामाजिक महत्त्वमाथि प्रकाश पारे। त्यस्तै, प्रा. मुकुन्दराजले अविर टीका सगुनका रूपमा लगाइदिएर कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए।

वरिष्ठ सञ्चारकर्मी वेन्जु सरोज तथा वरिष्ठ पत्रकारद्वय कल्पना शर्मा र रमा न्योपानेले फागुपूर्णिमाको सांस्कृतिक सन्दर्भ र सामाजिक सन्देशबारे आफ्ना धारणा राखेका थिए।

त्यसैगरी, सामाजिक अभियन्ता अप्सरा थापा, समाजसेवी राधा खड्का तथा अभिभावक शुनिता केसीले फागुन महिनाको सामाजिक सन्दर्भ, विशेषतः महिलाको अवस्था र होलीको महत्त्वबारे विचार व्यक्त गरेका थिए।

कार्यक्रममा छात्राहरू गङ्गा केसी, प्रकृति दाहाल र कल्पना कटुवालले ‘ह्यापी होली’ सन्देश दिँदै विगत १९ वर्षदेखि निरन्तर रूपमा रङ्गीन होली पर्व आयोजना हुँदै आएको उल्लेख गरे।

कार्यक्रमको समापनमा मिलन चौतारीको तर्फबाट छात्रा गङ्गा केसीले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीप्रति आभार व्यक्त गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *