धनकुटाका आठपहरिया समुदायले किन मनाउँदैनन् दसैं ?

धनकुटा । आज बडादसैंको दशौँ दिन अर्थात् विजयादशमी । देशभर नेपालीहरूले मान्यजनको हातबाट टीका–जमरा थाप्दै आशीर्वाद लिइरहेका छन् । तर, धनकुटामा बसोबास गर्ने आदिवासी आठपहरिया समुदाय भने यो पर्व मनाउँदैनन् ।

धनकुटा नगरपालिकाभित्र मात्र करिब ८ हजारको संख्यामा बसोबास गर्ने आठपहरियाले कहिल्यै पनि दसैं मनाएका छैनन् । उनीहरूका लागि दसैं भन्नासाथ जंगबहादुर राणाको समयमा मारिएका सांस्कृतिक सहिद रामलिहाङ र रिदामाको प्रसङ्ग अनिवार्य रूपमा जोडिन्छ ।

वि.सं. १९३३ सालमा सरकारी आदेश विपरीत दसैं नमान्दा पुजारी रहेका रामलिहाङ र रिदामालाई धनकुटाको चुलीवनमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । यही घटनापछि आठपहरिया समुदायमा दसैंलाई लादिएको पर्वका रूपमा लिइन थालियो । किराँत आठपहरिया समाजका अध्यक्ष अष्टमान आठपहरिया र महासचिव सूर्य आठपहरियाका अनुसार यो घटनाले समुदायमा गहिरो ऐतिहासिक घाउ छोडेको छ ।

राजा राजेन्द्रविक्रम शाहको समयमा जारी भएको एक सरकारी रुक्काले पनि दसैंलाई जबर्जस्ती मनाउन लगाइएको प्रमाण भएको उनीहरूको भनाइ छ । यही कारण आठपहरिया समुदायले दशैँलाई आफ्ना लागि विदेशी र लादिएको पर्व मान्दै पीढी दरपीढी बहिष्कार गर्दै आएको हो ।

दसैं नमनाउने आठपहरियाले भने आफ्नै वडाङ्मेट चाडलाई एक महिनासम्म धुमधामका साथ मनाउने गर्छन् । यही अवसरमा धनकुटा नगरपालिकाले दुई दिनसम्म सार्वजनिक बिदा दिने गरेको छ । साथै, संघीयतापछि चुलीवनलाई सहिद रामलिहाङ–रिदामा स्मृति पार्कका रूपमा घोषणा गरिएको छ ।

आठपहरियाले वैशाख पूर्णिमा, भदौरे पूर्णिमा र मंसिरे पूर्णिमालगायत आफ्ना परम्परागत पर्वलाई भव्यतापूर्वक मनाउँदै आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *