बाजुरा । महान चाड दसैँको रौनकसँगै भारत र देशका विभिन्न सहरमा रोजगारीका लागि गएका बाजुराका स्थानीय बासिन्दा गाउँ फर्कन थालेका छन्। असोज १६ गते पर्ने दसैँ मनाउनको लागि नेपाल–भारत सीमानाका, राजधानी काठमाडौं र धनगढीबाट गाउँ फर्किनेको भीड बढेसँगै बर्खाको समयमा सुनसान भएका गाउँबस्ती फेरि जनजीवनले भरिन थालेका हुन्।
त्रिवेणी नगरपालिका–६ का प्रकाश बिक पनि यसै भीडसँग गाउँ फर्किएका युवामध्ये एक हुन् । रोजगारीको खोजीमा हिउँदमासम्म भारतमा श्रम गरेर आएको बताउँदै उनले भने, “गाउँमै केही गर्ने चाहना थियो तर यहाँ कामको अवसर छैन। खेती गर्न जमिन छ तर सिँचाइको सुविधा छैन। दसैँ तिहार परिवारसँगै मनाउँछु, त्यसपछि फेरि भारत जानु पर्ने हुन्छ।”
गाउँमा पर्याप्त रोजगारीको अवसर नहुँदा बाजुराका धेरै युवा वर्षको अधिकांश समय भारतमै श्रम गरेर बिताउँछन्। बर्खाको खेती सकाएपछि दसैँ खर्च जुटाउन सधैं भारत जाने उनीहरू माघमा माघी र चैत–वैशाखमा वीसु मनाउन, असारमा रोपाइँ गर्न र दसैँ–तिहारको समयमा मात्र गाउँ फर्किन्छन्।
स्थानीयको भनाइमा, यो बाध्यता पुस्तौँदेखि चलिआएको हो। कृषि र अन्य पेशाप्रति युवाको आकर्षण घट्दै जानु, रोजगारीको अभाव र बारम्बारको प्राकृतिक विपत्तिले पनि गाउँ बस्ती रित्तिनुमा थप कारण बनेको छ। जिल्लाका बुढीगङ्गा, त्रिवेणी, खप्तड, छेडेदह, गौमुल, बडीमालिका, हिमाली, स्वामिकात्तिक, जगनाथ, बुढीनन्दा नगरपालिकाका बासिन्दा रोजगारीको खोजीमा भारत र अन्य सहर जाने गरेका छन्।
बाम्का बजारको टिकट काउण्टरका इन्चार्ज जनक बुढाका अनुसार, साउनमा जस्तै संख्यामा अहिले पनि भारततर्फ गएकाहरू दसैँ मनाउन गाउँ फर्किरहेका छन्। “पहिले बस तलतिर खाली आउँथे, अहिले भने माथितिर खाली र तलतिर भरिभराउ गरेर फर्किन थालेका छन्,” उनले भने।
चाडपर्वको आगमनसँगै फिरेका उनीहरूले गाउँमा पुनः रौनक ल्याए पनि चाडपछि फेरि कामको खोजीमा परदेशिने बाध्यता भने यथावत् रहने देखिन्छ।