नेपालबाट साढे तीन घण्टा लामो खग्रास चन्द्रग्रहण अवलोकन

आइतबार राति भाद्र शुक्ल पूर्णिमामा परेको खग्रास चन्द्रग्रहण नेपालभर साढे तीन घण्टासम्म देखिएको छ ।

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण राति १० बजेर ११ मिनेटमा सुरु भई ११ः५६ मा मध्यबिन्दुमा पुगेको र ०१ः४१ बजे सकिएको थियो ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले राजधानी काठमाडौंसहित देशभरबाट स्पष्ट रूपमा चन्द्रग्रहण देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार ग्रहण नेपालमा पूर्व–आग्नेय दिशाबाट सुरु भई नैऋत्य–पश्चिमतर्फ क्रमशः अन्त्य भएको थियो ।

पृथ्वी, सूर्य र चन्द्रमा एउटै रेखामा पर्दा पृथ्वीको छायाँले चन्द्रमालाई पूर्णरूपमा ढाक्ने अवस्थालाई खग्रास चन्द्रग्रहण भनिन्छ ।

यो घटना विसं २०८२ मा नेपालबाट देखिएको पहिलो ग्रहण हो । यसै वर्ष फाल्गुन शुक्ल पूर्णिमामा अर्को खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । सामान्यतया चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *