माघे सङ्क्रान्तिमा धादिङमा गोरु जुधाइँ : एक सय हल साँढे मैदानमा

धादिङ । माघे सङ्क्रान्तिको अवसरमा आज धादिङका विभिन्न स्थानमा परम्परागत गोरु जुधाइँ सम्पन्न भएको छ । कृषि कर्ममा प्रयोग गरिँदै आएका साँढे गोरुहरूलाई माघे सङ्क्रान्तिका दिन जुधाउने सांस्कृतिक चलनअनुसार जिल्लामा करिब एक सय हल गोरु जुधाइएको हो ।

त्रिपुरासुन्दरी गाउँपालिकाको मूलपानीमा १४ हल, लाइगाउँमा १० हल, नीलकण्ठ नगरपालिका–९ धुवाकोटको खाल्टेमा सात हल, मर्स्याङछापमा पाँच हल, सुनौलाबजारमा आठ हल, खनियाबास गाउँपालिकाको दार्खामा १७ हल, मार्पकमा चार हल, फुलखर्कमा ११ हल, बुढाथुममा नौ हल र ज्वालामुखी गाउँपालिकाको मैदीमा छ हल गोरु जुधाइएको आयोजकहरूले जानकारी दिएका छन् ।

जनावर जुधाएर रमाइलो गर्ने यो परम्परामा गहिरो ऐतिहासिक पृष्ठभूमि रहेको मूलपानीका शम्भु थापाले बताए । उनका अनुसार रसुवा, नुवाकोट र धादिङमा प्रचलित गोरु जुधाइँको परम्परा नेपाल–तिब्बतबीच भएको भोट सन्धि १९४९ सँग जोडिएको विश्वास गरिन्छ । बझाङ्गी राजा पृथ्वीबहादुर सिंहको स्वागतका लागि माघे सङ्क्रान्तिका दिन गोरु जुधाएर सुरुवात गरिएको किम्बदन्ती पनि रहँदै आएको छ ।

बारीमा धुलो उडाउँदै बडेमानका जुरो भएका साँढे गोरुहरू जुध्दा वरपरका पाखा हजारौँ दर्शकले भरिभराउ देखिन्थे । पहिला छिमेकीबीचको रमाइलोका रूपमा घरका गोरु जुधाइने यो चलन पछिल्लो समय प्रतिस्पर्धात्मक प्रतियोगितामा रूपान्तरित भएको छ ।

प्रतियोगितामा गोरुको उमेर र आकारका आधारमा जोडी मिलाइन्छ । जुधाइँका क्रममा जुन गोरु पहिला भाग्छ, उसलाई पराजित र अर्को गोरुलाई विजेता मानिन्छ । वर्खाभरि खेतबारी जोतेर हिउँदमा बलियो बनाइएका गोरुहरू किसानले मनोरञ्जनका लागि जुधाउँदै आएका हुन् ।

मनोरञ्जनसँगै भेटघाट र आपसी सम्बन्ध नवीकरण गर्ने अवसरका रूपमा गोरु जुधाइँ विकसित हुँदै गएको मैदीकी सुशीला विश्वकर्माले बताइन् । ऐतिहासिक प्रमाण स्पष्ट नभेटिए पनि यो परम्परा कम्तीमा एक सय वर्षभन्दा पुरानो मानिन्छ । माघे सङ्क्रान्ति आउनासाथ नेपालमा गोरु जुधाइँको दिनको रूपमा चिनिन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *