नेपालमा फेसबुक, ट्वीटर र युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द हुने

काठमाडौँ । सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल तत्काल बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार यो कदम चालेको हो ।

मन्त्रालयले आजदेखि नै ती सामाजिक सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिसकेको छ । बिहीबार बसेको मन्त्रालयको बैठकले सर्वोच्चको परमादेश र मन्त्रिपरिषद्को निर्णय तत्काल लागू गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार, दर्ता प्रक्रिया अघि बढाएपछि ती सामाजिक सञ्जाललाई क्रमशः खोल्दै लगिने सरकारको योजना रहेको छ ।

यसअघि सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्सलगायत इन्टरनेटमार्फत विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि बन्देज लगाउन तथा नियमनका लागि कानुन बनाउन सरकारलाई परमादेश जारी गरेको थियो ।

न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले बुधबार सरकारलाई निर्देशन दिँदै विदेशी प्रसारण संस्थाले नेपालमा प्रसारण गर्न अनुमतिपत्र लिनुपर्ने र आवश्यक कानुन निर्माण गर्नुपर्ने आदेश दिएको हो ।

प्रसारण नियमावलीअनुसार कुनै विदेशी प्रसारण संस्था वा डिजिटल सामग्री उत्पादकले आफ्नो मुलुकबाट प्रसारण गर्ने कार्यक्रम नेपालमा डाउनलिंक गरी प्रसारण गर्न चाहने व्यक्तिले अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *