पर्यटकीय प्रवेशद्वार लाप्चासम्म सञ्चार सुविधा पुर्‍याउन माग

हुम्ला । नेपालका प्रमुख पर्यटकीय प्रवेशद्वारहरूमध्ये पर्नेसल्ली, न्यालु, ताक्ची र लाप्चा क्षेत्रमा अझै सञ्चार सुविधा नपुगेपछि त्यस क्षेत्रलाई आधुनिक सञ्चार प्रविधिसँग जोड्न सरकारले पहल गर्नुपर्ने माग गरिएको छ।

जिल्लाको नाम्खा गाउँपालिका–६ अन्तर्गत पर्ने लिमी र लाप्चा क्षेत्र आजसम्म पनि सञ्चार सुविधाबाट वञ्चित छन्। नेपाल पत्रकार महासंघ हुम्ला शाखाको चौथो बैठकले नेपाल सरकारसँग तत्काल उक्त क्षेत्रमा सञ्चार पहुँच विस्तार गर्न औपचारिक माग गर्ने निर्णय गरेको छ।

महासंघका उपाध्यक्ष सुरेश परियारका अनुसार पत्रकार महासंघका सदस्यहरू चार दिनसम्म ती क्षेत्रमा सम्पर्कविहीन रहेर आफ्ना समाचार पठाउन नसकेपछि यस्तो माग उठाइएको हो।
“हाम्रा पत्रकार साथीहरू समाचार संकलनका लागि त्यहाँ पुग्छन्, तर सञ्चार सुविधा नहुँदा न समाचार पठाउन सकिन्छ, न सम्पर्क गर्न,” परियारले बताए।

पर्यटन व्यवसायी रामजन रावतका अनुसार ताक्चीबाट सञ्चार सम्पर्क गर्न लिमीको जाङ गाउँसम्म दुई घण्टा पैदल हिँड्नुपर्ने वा बोलेरो जीपमा करिब तीन हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ। उनले भने, “लाप्चा पुग्ने जो कोही पर्यटक सल्लीबाट प्रवेश गरेपछि सञ्चार सुविधाबाट पूर्ण रूपमा बाहिरिन्छन्, जुन पर्यटकीय क्षेत्रमा ठूलो चुनौती हो।”

लाप्चा क्षेत्रबाट मानसरोवर र कैलाश पर्वत देखिने मात्र होइन, यहाँ सुन्दर ताल, झरना, र जङ्गली जनावरहरू पनि प्रशस्त पाइन्छन्। यस्ता पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न सञ्चारको पहुँच अपरिहार्य भएको स्थानीयवासीहरूको भनाइ छ।

वडा अध्यक्ष पाल्जोर तामाङले भने, “लाप्चा क्षेत्र पर्यटनको सम्भावना बोकेको अमूल्य सम्पत्ति हो। तर सञ्चार सुविधा नहुँदा यसको पहिचान विस्तार हुन सकेको छैन। सरकारले जति सक्दो चाँडो यसलाई नेटवर्कमा जोड्नुपर्छ।”

स्थानीयहरूले सञ्चारमन्त्री जगदिश खरेलको पहलमा तिलिचो ताल क्षेत्रमा जस्तै लाप्चा क्षेत्रमा पनि सञ्चार सुविधा विस्तार गर्न आग्रह गरेका छन्।
सञ्चारविहीनताको कारणले न त पर्यटकको आगमन बढाउन सजिलो भएको छ, न त त्यहाँका सुन्दर दृश्य र जीवनशैली देश–विदेशमा देखाउन सम्भव भएको छ।

लिमी–लाप्चा क्षेत्रका बासिन्दा र सञ्चारकर्मीहरूको एक स्वर छ , “लाप्चा पुग्ने बाटो खुल्यो, अब सञ्चार पनि पुग्नुपर्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *