मनसुन अझै सक्रिय: दुई सातासम्म निरन्तर वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुन सक्रिय रहँदा आगामी दुई सातासम्म वर्षा जारी रहने मौसमविद्हरूले अनुमान गरेका छन्। पछिल्लो २४ घण्टामा अधिकांश स्थानमा वर्षा र बदली देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुनसँगै स्थानीय वायुप्रवाह सक्रिय रहेकाले देशका सबैजसो भागमा बादलसँगै वर्षा भएको छ। सङ्खुवासभाको नुममा १०२ मिमीभन्दा बढी वर्षा र बैतडी तथा झापामा ८० मिमीभन्दा बढी पानी परेको छ। आज राति र भोलि पनि धेरै ठाउँमा बदली रहने सम्भावना छ।

लुम्बिनीको तराई क्षेत्र तथा कोशी र सुदूरपश्चिमका पहाडी भागमा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताए। तर, लामो समयसम्म निरन्तर मुसलधारे वर्षा भने नहुने महाशाखाको आकलन छ।

मौसमविद् विनोद पोख्रेलले यो हप्ताभर र त्यसपछि अर्को हप्तासम्म पनि बदलीसहित वर्षाको क्रम कायम रहने बताए।

यस वर्षको मनसुन अवधिमा हालसम्म कुल औसतको ८० प्रतिशत वर्षा भइसकेको छ। नेपालमा मनसुनयाममा सामान्यतया १,४७२ मिमी पानी पर्नेमा हालसम्म १,१८३.२० मिमी वर्षा भइसकेको छ। अझै दुई हप्ताभन्दा बढी मनसुन सक्रिय रहने सम्भावना भएकाले थप वर्षाको सम्भावना उच्च रहेको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *