काठमाडौं । नेपालमै विकास गरिएको अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ शुक्रबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नेपाली आइटी युवाहरूको स्वदेशी लगानी र प्रविधिमा आधारित यो प्लेटफर्मले व्यक्तिदेखि व्यवसायसम्मलाई एउटै डिजिटल छातामुनि जोड्दै नेपाललाई विश्वस्तरीय डिजिटल प्रतिस्पर्धामा उभ्याउने लक्ष्य लिएको छ।
ग्लोबल डायरीका प्रमुख कार्यकारी अधिकृत भगवानदास अग्रहरिका अनुसार यो प्लेटफर्म नेपालमै विकास भए पनि यसको उद्देश्य र कार्यशैली अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको छ। “व्यक्तिगत प्रयोगकर्ता, व्यवसाय र सरकारी निकायलाई एउटै डिजिटल संरचनामा जोडेर सम्पर्क, व्यापार, सेवा तथा अवसरलाई सजिलै उपलब्ध गराउने हाम्रो मूल लक्ष्य हो,” अग्रहरिले बताए।
संस्थाका अध्यक्ष शेखर अर्यालका अनुसार, टुक्रिएको नेपालको डिजिटल संरचनालाई एउटै एआई–सञ्चालित बहुपक्षीय प्लेटफर्ममार्फत सशक्त बनाउन ग्लोबल डायरी तयार गरिएको हो। “विभिन्न डिजिटल उपकरणमा छरिएका जानकारीलाई अब प्रयोगकर्ताले एउटै स्थानमा व्यवस्थापन गर्न सक्नेछन्,” उनले भने।
ग्लोबल डायरीले प्रयोगकर्तालाई आफ्नो सीप, अनुभव र उपलब्धि प्रदर्शन गर्न, व्यवसायिक पोर्टफोलियो बनाउन, रोजगारी तथा स्वतन्त्र पेशागत अवसरहरू पाउन सहयोग गर्नेछ। साना व्यवसायदेखि ठूला कम्पनीसम्मका लागि विपणन, ग्राहक संलग्नता, विश्लेषणात्मक उपकरण र भर्ती (हायरिङ) सुविधा समेत समेटिएको यस प्लेटफर्मलाई सस्तो र विस्तारयोग्य बनाइएको छ।
स्थानीय बजारलाई प्राथमिकता दिँदै राष्ट्रिय स्तरको डेटा सुरक्षा सुनिश्चित गर्ने ग्लोबल डायरीले करिब ६० प्रतिशतसम्म डिजिटल खर्च बचत गर्न सक्ने दाबी गरेको छ। साथै, विदेशी डिजिटल प्लेटफर्ममा जाने वार्षिक १५० मिलियन अमेरिकी डलरभन्दा बढीको विज्ञापन खर्च देशमै रोक्न सक्ने सम्भावना देखाइएको छ।
एआई–चालित सुझाव प्रणालीमार्फत प्रयोगकर्तालाई रोजगारी, नेटवर्किङ र व्यवसाय वृद्धि गर्न उपयुक्त अवसर सिफारिस गर्ने, व्यवसाय र व्यक्तिगत प्रोफाइलको प्रभाव मूल्यांकन गर्ने, क्युआर कोडमार्फत सजिलो सम्पर्क आदानप्रदान जस्ता सुविधा ग्लोबल डायरीमा उपलब्ध छन्।
डिजिटल नवप्रवर्तन, व्यावसायिक सशक्तीकरण र समुदाय–केन्द्रित विकासलाई एकैसाथ अघि बढाउने उद्देश्यसहित सार्वजनिक गरिएको ग्लोबल डायरीले नेपाललाई स्वदेशमै बनेको विश्वस्तरीय सामाजिक सञ्जालको युगमा प्रवेश गराएको छ।