गुल्मीमा साहसिक खेलप्रतिको आकर्षण बढ्दो

गुल्मी । पछिल्लो समय गुल्मीका विभिन्न स्थानीय तहमा साहसिक खेलप्रतिको आकर्षण तीव्र गतिमा बढ्दै गएको छ । जिपलाइन र स्काई साइक्लिङ्ग जस्ता नयाँ साहसिक संरचनाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेका छन् ।

मदाने गाउँपालिकाले वडा नं. ७ भनभनेको रोल्मा तिखेचुली पर्यटन क्षेत्रमा करिब ३ करोड रुपैयाँ लागतमा जिपलाइन र स्काई साइक्लिङ्गसहितका पूर्वाधार निर्माण गरेको छ । ३२० मिटरको जिपलाइन र ९० मिटर लामो डबल स्काई साइक्लिङ्ग अर्घा कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको हो । गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरका अनुसार यो क्षेत्र गुल्मी, अर्घाखाँची र प्युठानको सिमानामा पर्ने भएकाले साहसिक खेल व्यवसायिक रूपमा पनि सफल हुने अपेक्षा गरिएको छ ।

छत्रकोट गाउँपालिकाले पनि एक वर्षदेखि १,०८० मिटर लामो जिपलाइन सञ्चालनमा ल्याएको छ, जसले छत्र देवालय र लुम्छाको भगवती मन्दिरलाई जोड्छ । “रुरु रेसुङ्गाको धार्मिक आश, छत्रकोटमा बसौँ बास” भन्ने नारासहित सञ्चालन गरिएको यस परियोजना करिब ८६ लाख रुपैयाँको लागतमा बनेको हो । गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले कृषि र ग्रामीण पर्यटनसँगै साहसिक खेलले आर्थिक समृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, रेसुङ्गा नगरपालिकाले गर्जुरा क्षेत्रमा ४२५ मिटर लामो जिपलाइन र १८० मिटर लामो स्काई साइक्लिङ्ग निर्माण सुरु गरेको छ । करिब १ करोड २५ लाख रुपैयाँ लागतको यो परियोजना धार्मिक तथा ऐतिहासिक रेसुङ्गा क्षेत्रलाई थप पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले अघि बढाइएको हो ।

यसैगरी, रुरुक्षेत्र गाउँपालिकाले स्याङजाको कालिगण्डकी गाउँपालिकासँग सहकार्यमा रिडीको देवदत्त पार्कबाट हनुमानबाटीसम्म जोड्ने जिपलाइन निर्माणका लागि डिपिआर तयार गरेको छ ।

यी परियोजनाहरूले गुल्मी र आसपासका धार्मिक तथा ऐतिहासिक क्षेत्रलाई साहसिक पर्यटनसँग जोड्दै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *