युएईको भिसा रोकिदा वेस्ट इन्डिजसँगको टी–२० तयारी अनिश्चित

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले भिसा जारी नगरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको शुक्रबार बिहान तय गरिएको यात्रा अचानक रोकिएको छ। दुईपटकको विश्वच्याम्पियन वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्दै आइसिसी टी–२० विश्वकप छनोटका लागि तयारी गर्ने योजना तत्कालका लागि अनिश्चित बनेको हो।

नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार टोलीको टिकटसमेत बुक गरिएको थियो तर भिसा समयमै नआउँदा उडान रोकिएको हो। “भिसा प्रक्रिया अघि बढिरहेको छ। केही दिन समय लाग्न सक्छ, सम्भवतः सोमबारभित्र टोली प्रस्थान गर्नेछ,” उनले जानकारी दिए।

युएई सरकारले नेपाली नागरिकको भिसा अनुमतिमा कडाइ गरेको कारण स्पष्ट नहुँदा यात्रा प्रभावित भएको क्यानले बताएको छ। आधिकारिक जानकारी नआए पनि नेपालका विभिन्न सञ्चारमाध्यमले फरक–फरक कारण देखाएका छन्—जेन–जी आन्दोलनपछिका कैदी फरार घटना र कतारमा भएको सुरक्षासम्बन्धी चुनौती त्यसका उदाहरण हुन्। विगतमा पनि बंगलादेशमा आन्दोलनपछि शेख हसिनाको सरकार ढलेको समय युएईले त्यहाँको भिसा अस्थायी रूपमा रोकेको प्रसंग स्मरणीय छ।

नेपालका हजारौँ नागरिक जेल फोडेर फरार भएको घटनाले युएईले सुरक्षाको चासो देखाएको अनुमान गरिएको छ। जेन–जी आन्दोलनका क्रममा १५ हजारभन्दा बढी कैदी फरार भएको र अहिले पनि आठ हजारभन्दा बढी फरार रहेको समाचार सार्वजनिक छन्।

युएईमा नेपालले सेप्टेम्बर २७, २९ र ३० मा वेस्ट इन्डिजसँग तीन टी–२० खेल खेल्ने कार्यक्रम तय गरिएको थियो। तर भिसा समस्या समाधान नभएसम्म यी खेलमा नेपाली टोलीको सहभागिता अनिश्चित रहन्छ।

यसैबीच आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने आइसिसी टी–२० विश्वकप एसिया प्यासिफिक रिजनल फाइनललाई ध्यानमा राख्दै नेपालले तयारीका लागि वेस्ट इन्डिजसँगको सिरिजलाई प्राथमिकता दिएको थियो। कुल नौ राष्ट्र सहभागी हुने यस छनोटबाट तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने विश्वकपको टिकट पाउनेछन्।

तेस्रोपटक टी–२० विश्वकपमा प्रवेश गर्ने लक्ष्यसहित तयारीरत नेपाली टोलीको अभ्यास योजनामा यस घटनाले अवरोध खडा गरेको छ। क्यान अहिले वैकल्पिक उपाय खोज्नुपर्ने बाध्यतामा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *