विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय शृङ्खलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । शनिबार भएको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले हार व्यहोरेको हो ।

नेपालले दिएको २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले एक ओभर बाँकी रहँदै ६ विकेटको क्षतिमा पूरा गर्यो । चौथो विकेटका लागि साइतेजा मुक्कमल्ल र मिलिन्द कुमारले १२३ रनको साझेदारी गर्दै अमेरिकाको इनिङ्स उकासेका थिए ।

साइतेजा मुक्कमल्लले सर्वाधिक ७५ रन बनाउँदा करण केसीको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए । उनले १०१ बलमा ७ चौका र एक छक्का प्रहार गरे ।

मिलिन्द कुमारले ६६ बलमा ७ चौका र एक छक्का सहयोगमा ७० रन बनाउँदा सन्दीप लामिछानेको बलमा भीम सार्कीको हातबाट क्याच आउट भए ।

सयान जहानजिरले ३६ रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भए । कप्तान मोनांक पटेलले २१ रन बनाउँदा नन्दन यादवको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए । ओपनर स्मिथ पटेल १६ रनमा गुल्सन झाको बलमा एलबीडब्लु आउट भए ।

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । नन्दन यादव, करण केसी र गुल्सन झाले समान एक–एक विकेट लिए । त्यसअघि युएईको दुबईस्थित आइसीसी एकेडेमीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल एक बल अगावै २७१ रन बनाउँदा अलआउट हुन पुग्यो ।

नेपालका लागि अलराउण्डर दीपेन्द्र सिंह ऐरिले सर्वाधिक ७५ रन बनाए । उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।करण केसीले ४९ रन थपे । कुशल भुर्तेल ४७, भीम सार्की ४३ र कप्तान रोहित पौडेलले ३६ रन थपे ।

अमेरिकाका लागि हरमित सिंहले सर्वाधिक ३ विकेट लिए । सौरभ नेत्रावल्कर र नोस्टुस ले समान २ विकेट लिए । जसदीप सिंह, शुभम रजानेले समान एक विकेट लिए ।

सिरिजको आफ्नो चौथो खेलमा नेपालले बुधबार युएईविरुद्ध खेल्नेछ । जारी शुङ्खलामा नेपालले खेलेका दुवै खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग पाँच विकेटले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *