इलाम । “सक्षम व्यक्ति नेतृत्वमा पुग्दा नतिजा अवश्यै देखिन्छ” भन्ने कुराको प्रत्यक्ष उदाहरण बनेका छन् जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोला।
बास्तोलाको नेतृत्वमा इलामले यस वर्षको १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उल्लेखनीय सफलता हात पारेको छ। विराटनगरमा सम्पन्न कोशी प्रदेशस्तरीय प्रतियोगितामा इलामले ६ स्वर्ण, ४ रजत र १२ कास्यसहित २२ पदक जित्दै तेस्रो स्थान हासिल गरेको हो। ११ जिल्लामध्ये मोरङ ४६ पदकसहित पहिलो र झापा ४४ पदकसहित दोस्रो स्थानमा रहँदा इलामको प्रदर्शन ऐतिहासिक रहेको छ।
अध्यक्ष बास्तोलाले भने, “ग्रामिण क्षेत्रमा पुगेर प्रतियोगिता सञ्चालन गर्न थालेपछि खेलाडी उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। यो सफलता हाम्रो निरन्तर मेहनतको नतिजा हो।”
दुई वर्षअघि ११औं स्थानमा रहेको इलाम गत वर्ष नवौं र यस वर्ष तेस्रो स्थानमा उक्लिन सफल भएको छ—यो निरन्तर सुधार नै बास्तोला नेतृत्वको उपलब्धि हो।
बास्तोलाको पहलमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अब ग्रामिण पालिकासम्म पुगेको छ। यसले पालिकाबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना गरेको छ र धेरै पालिकाले वार्षिक बजेटमै खेलकुदका कार्यक्रम समावेश गर्न थालेका छन्।
साथै, दीर्घकालीन दृष्टिकोणसहित बास्तोलाको नेतृत्वमा जिल्ला खेलकुद विकास समितिको नयाँ भवन समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। वर्षौंदेखि जीर्ण अवस्थामा रहेको कार्यालय अब टुडिखेल नजिकै आधुनिक संरचनामा रूपान्तरण हुँदैछ।

स्थानीयवासीका अनुसार, बास्तोला नेतृत्वमा आएपछि खेलकुदका गतिविधि बढेका मात्र होइन, त्यसका ठोस नतिजा पनि देखिन थालेका छन्। जिल्लामा पहिलोपटक “ओलम्पियन मिट” कार्यक्रम सम्पन्न भएको थियो, जसमा स्वदेशी र विदेशी ओलम्पियन खेलाडी सहभागी थिए। उक्त कार्यक्रम पनि बास्तोलाको सक्रियतामा सूर्योदय नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो।
यसपटकको प्रतियोगिताबाट इलामका ६ खेलाडी राष्ट्रिय स्तरका प्रतियोगिताका लागि छनोटमा परेका छन्। तीमध्ये तेक्वान्दो तर्फ दिभिना कार्की (४५ केजी) र सोनिम भट्टराई (४४ केजी), उसुमा सुनिथी राई, रितिका राई र दिप्सन नेम्वाङ, र ३००० मिटर दौडमा पुष्पा शेर्मा लिम्बु छन्।
खगेन्द्र बास्तोलाको दूरदृष्टि, योजनाबद्धता र प्रतिबद्धताले इलाममा खेलकुदको क्षेत्र नयाँ उचाइमा पुगेको छ। उनले देखाएको बाटोले स्थानीय तहदेखि प्रदेशस्तरसम्म इलामलाई अब खेलकुदको केन्द्र बन्ने आशा जगाएको छ।
