भोजपुर । पौवादुङमा गाउँपालिकामा अवस्थित ऐतिहासिक च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण तथा विकास कार्य सम्पन्न भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (७०%) र गाउँपालिका (३०%)को लागत साझेदारीमा कुल रु २ करोड १३ लाख खर्च गरिएको हो।
संरक्षणअन्तर्गत पोखरीको घेराबारा, फूल रोप्ने टनेल, टायलसहितको फुटपाथ निर्माण, बस्ती हटाएर खुला क्षेत्र सिर्जना, र मन्दिर परिसरको सौन्दर्यकरण गरिएको छ। गाउँपालिकाले मुअब्जा दिएर दुई घर र तीन कित्ता जग्गा अधिग्रहण गरेको छ।
हाल बालबालिका र ज्येष्ठ नागरिकका लागि पार्क निर्माण भइरहेको छ भने विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गरी थप विकास कार्य अघि बढाइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए।
स्थानीय बासिन्दाका अनुसार विगतमा यहाँ च्याङ्ग्रा आएर पोखरीको पानी पिउँदै दिनभर आराम गर्ने चलनका कारण ‘च्याङ्ग्रे पोखरी’ नामकरण गरिएको हो। पोखरी छेउको पञ्चकन्या मन्दिरमा वर्षभर भक्तजनको भीड लाग्ने गरेको छ, जसको नामबाटै यहाँको बजार ‘च्याङ्ग्रे बजार’ कहलिन्छ।