हुम्ला । मानसरोवर कैलाशको दर्शन गर्न जाने ३४१ जना भारतीय पर्यटक हुम्लामा आएका छन् । कोरोनायता भारतीय तीर्थयात्रीलाई रोक लगाएको चीनले कैलाश मानसरोवर यात्रा पुनः सुचारु गर्दा हुम्ला आउने भारतीय पर्यटकको बढेका हुन् ।
एक हप्तायता मानसरोवर कैलाशको दर्शन गर्ने भारतीय पर्यटकको सङ्ख्या ३४१ जना पुगेको होटेल तथा पर्यटन व्यवसायी मीनबहादुर तामाङले बताउनुभयो । भारतीय पर्यटक आउन थालेपछि सदरमुकाम सिमकोटमा चहलपहल पनि बढेको छ । लामो समय बन्द रहेको हिल्सा नाका २०८१ वैशाख १८ गते खुले पनि कैलाश मानसरोवर तीर्थ जाने भारतीय पर्यटकका लागि भने नखुलेका बेला चीनले भारतीय पर्यटकका लागि नाका खुला गर्दा भारतीय धार्मिक पर्यटक आउन थालेका हुन् ।
सात वर्षपछि भारतीय धार्मिक पर्यटक हिल्सा नाका भएर मानसरोवर कैलाशको दर्शन गर्दै आइरहेका छन् । उहाँले भारतीय धार्मिक पर्यटक सदरमुकाम सिमकोट आउन सुरु भएको र मङ्गलबारदेखि हिल्सा हुँदै मानसरोवर कैलाशको यात्रा सुरु भएको बताउनुभयो ।
भारतीय पर्यटक केही हेलिकोप्टरमा र केही भने पैदल मार्गबाट गाडीबाट यात्रा गरेका छन् । यो सिजनमा २० हजार भारतीय पर्यटक केरुङ र हिल्सा नाकाबाट मानसरोवर कैलाशको यात्रा गर्ने तय भएको जानकारी उहाँले दिनुभयो । भारतीय पर्यटक आउन सुरु भएसँगै होटेल तथा पर्यटन व्यवसायी खुसी भएका छन् । यो अवधिमा भारतीय पर्यटकले खार्पुनाथ शिवालयको दर्शनसमेत गर्ने छन् ।
अर्का पर्यटन व्यवसायी रामजन रावतले मानसरोवर कैलाशका लागि भारतीय पर्यटक आउन सुरु भएपछि सिमकोट र हिल्सामा बन्द भएका होटेल सुचारु भएको र हेलिकोप्टर तथा गाडीले पनि काम पाएको बताउनुभयो ।
सिमकोट विमानस्थलबाट होटेलसम्म भरियाले पनि काम पाएका छन् । श्री एयरलाइन्सले एक वर्षअघि नेपालगन्जबाट चार्टर उडान गरेर कैलाशको दूरदर्शन प्याकेज सुरु गरेको थियो । कैलाश मानसरोवर देखाउने पर्वतीय उडान टुर अपरेटरले लखनउदेखि नेपालगन्ज ल्याई पर्वतीय उडान गराएर लखनउसम्मै फर्काउने प्याकेज थालेको थियो । दुई रात, तीन दिनको यो प्याकेज ५० हजार भारतीय रुपियाँको थियो ।