गुल्मी । रेसुङ्गा नगरपालिका गुल्मीले नगरभित्रका सम्भाव्य लगानी क्षेत्र पहिचानका लागि विभिन्न क्षेत्रका विज्ञ, उद्योगी, व्यवसायी र एनआरएन प्रतिनिधिसँग निरन्तर छलफल सुरु गरेको छ । नगरपालिकाले ‘स्थानीय विकास र लगानी अभिवृद्धि’ शीर्षकमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले पर्यटन, कृषि र होटल व्यवसायलाई मुख्य लगानी क्षेत्रको रूपमा अगाडि सार्न सुझाव दिएका छन् ।
गुल्मी उद्योग संघका महासचिव सुदर्शन खनालले रेसुङ्गा नगरपालिकाले मानवीय केन्द्रित विकासका उदाहरणीय पहलहरू गर्दै आएको बताउँदै, “सडक विस्तार, अस्पतालमा जनशक्ति व्यवस्थापन र ‘जाउँ हिँड रेसुङ्गा’ अभियानले नगरको छवि फरक पारेको छ,” भने । उनले लगानीमैत्री वातावरण बनाउन स्थानीय तहले निजी क्षेत्रसँग सहकार्य बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष कमल पन्थी र एनआरएन माल्टाका अध्यक्ष रेमलाल खनाललाई नगरपालिकाले सम्मान गरेको छ । सम्मानित अतिथिहरूले मातृभूमिमा लगानी गर्न इच्छा रहेको बताउँदै, रेसुङ्गालाई अन्तर्राष्ट्रिय धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।
रेसुङ्गा बहुमुखी क्याम्पसका अध्यक्ष श्रीप्रसाद भलामीले देशमा लगानीको सुरक्षा सुनिश्चित नभएकाले निजी क्षेत्र उत्साहित हुन नसकेको बताए । उनले धार्मिक पर्यटनलाई विविधीकरण गर्दै रेसुङ्गाको प्रचारप्रसार बढाउन सके मात्र समृद्धिको आधार तयार हुने धारणा राखे ।
त्यसैगरी, रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले धार्मिक पर्यटन नै नगरको भविष्यको प्रमुख लगानी क्षेत्र हुने विश्वास व्यक्त गरे । “हामीले धेरै गतिविधि गरेका छौं, तर अझै सामूहिक प्रयास आवश्यक छ,” उनको भनाइ थियो ।
विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पनि नगर विकासका लागि नीतिगत अवरोध हटाई ठोस कार्ययोजना बनाउनुपर्ने सुझाव दिए । माओवादी केन्द्रका नेता बुद्धि जिसीले गुल्मेलीहरूबीच साझा सोच र दृष्टिकोण नहुँदा रेसुङ्गाको प्रचार कमजोर भएको टिप्पणी गरे ।
कार्यक्रमको समापन गर्दै रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले लगानीकर्ता निश्चिन्त भएर अघि बढ्न सक्ने वातावरण बनाउन स्थानीय सरकारले ग्यारेन्टी दिने प्रतिवद्धता जनाए । उनले भने , “देश जटिल अवस्थामा छ, तर हामीले आफ्नै बाटोको योजना बनाउनुपर्छ—रेसुङ्गालाई लगानी र अवसरको केन्द्र बनाउने दिशामा नगरपालिकाले गम्भीर तयारी गरिरहेको छ।”
