भारतीय पर्यटकलाई ५ हजार डलर बराबरको विदेशी मुद्रा ल्याउन अनुमति

काठमाडौं । नेपाल सरकारले भारतीय पर्यटकलाई स्थलमार्गबाट ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक ल्याउन अनुमति दिएको छ । राजपत्रमा प्रकाशित सूचना अनुसार हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने सबै पर्यटकले यो सुविधा प्राप्त गर्नेछन् । यसअघि भारतीय पर्यटकले केवल २५ हजार भारतीय रुपैयाँ ल्याउन पाउँथे, तर अन्य मुलुकका पर्यटकलाई भने यो सुविधा पहिलेदेखि नै उपलब्ध थियो ।

सोभन्दा बढी रकम ल्याउनुपरे भन्सार बिन्दुमा घोषणा गर्नुपर्ने प्रावधान छ । विदेशबाट फर्कने नेपाली नागरिकका लागि भने पुरानै नियम लागू छ । उनीहरूले प्रयोग गरेका लुगा, घरायसी सामान, औषधि, ट्याबलेट, ल्यापटप, क्यामरा, फोन आदि एक–एक थान भन्सारमुक्त ल्याउन सक्छन् । वैदेशिक रोजगारीमा ६ महिना काम गरेर फर्कनेले नयाँ मोबाइल र १२ महिना काम गरेर सामाजिक सुरक्षा कोषमा सूचीकृत भएकाले टेलिभिजन (कुनै पनि आकारको) भन्सारमुक्त ल्याउन पाउँछन् ।

सुनको हकमा भन्सार महसुल ऐन २०८१ अनुसार पहिलो ५० ग्रामसम्म प्रचलित दरमा महसुल तिरेर ल्याउन सकिन्छ । थप ५० ग्रामसम्म तीन प्रतिशत अतिरिक्त महसुल लाग्छ । पुरुषले २५ ग्राम र महिलाले ५० ग्रामसम्म सुनको गहना भन्सारमुक्त ल्याउन सक्छन् । विदेशी पर्यटकले निजी प्रयोगका लागि सुन–चाँदीका गहना फिर्ता लैजाने सर्तमा भन्सारमा घोषणा गरी २० प्रतिशत धरौटी राखेर ल्याउन सक्ने व्यवस्था छ ।

भारतबाट विवाहजस्ता सामाजिक कार्यमा आउनेले पनि फिर्ता लैजाने सर्तमा गहना ल्याउन सक्छन् । तोकिएकोभन्दा बढी सुन वा गहना ल्याए जफत हुने प्रावधान छ । यो नीतिले पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *