काठमाडौँ । दसैँ–तिहारको मुख्य पर्यटन सिजन सुरु भइसकेको छ, तर जेनजी आन्दोलनको असरले देशका प्रमुख गन्तव्य सुनसान बनेका छन्। सामान्यतया यही समयमा आन्तरिक र विदेशी पर्यटकले होटल र होमस्टे भरिने गर्दछन्, तर यसपटक बुकिङ पाँच प्रतिशतसम्म खस्किएको छ। आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटका घटना भएपछि देशभरका होटल व्यवसायी निराश छन्।
बन्दीपुरदेखि बागलुङ, सौराह, लुम्बिनी, बर्दिया र पोखरा जस्ता प्रमुख गन्तव्यमा यसअघि शतप्रतिशत ‘अकुपेन्सी’ हुने होटल अहिले खाली छन्। बन्दीपुरका होटल व्यवसायीका अनुसार आन्दोलनपछि दैनिक आउने हजारौं पर्यटक घटेर सयभन्दा कममा झरेका छन्। चितवनको सौराहमा ८०–९० प्रतिशत बुकिङ हुनेमा अहिले पाँच प्रतिशत मात्र बाँकी छ। लुम्बिनीमा त करिब ९० प्रतिशत बुकिङ रद्द भइसकेको क्षेत्रीय होटल सङ्घले जनाएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार आन्दोलनअघि दैनिक तीन हजार ३०० विदेशी पर्यटक नेपाल आइरहेका थिए, तर आन्दोलनपछिका दिनमा यो सङ्ख्या झरेर आधाभन्दा कममा सीमित भयो। अहिले करिब दुई हजार ९०० मा पुनः उक्लिने संकेत देखिए पनि व्यवसायीले पुनरुत्थान सहज नहुने बताएका छन्।
आन्दोलनका क्रममा देशभरका होटल र पूर्वाधारमा कम्तीमा २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको होटल सङ्घ नेपालको अनुमान छ। राजधानीका पाँचतारे होटलदेखि चन्द्रागिरि र मौलाकालिकासहितका केबलकारमा तोडफोड र आगजनी हुँदा पर्यटकको विश्वास घटेको व्यवसायीको बुझाइ छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले भने निजी क्षेत्रसँग सहकार्य गर्दै दिगो पुनरुत्थानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। तर दसैँ सिजनमै सुनसान बनेका पर्यटकीय गन्तव्यले नेपाली पर्यटन उद्योगलाई पुनः शून्य बिन्दुमा पुर्याएको व्यवसायीको पीडा छ।