पाकिस्तानको कार्यबाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन

काठमाडौं । पाकिस्तानको कार्यबाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन हुनुभएको छ ।  प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटनको निर्णय गरेपछि विपक्षी दलसमेतको सहमतिमा अनवर कार्यवाहक प्रधानमन्त्री बन्नुभएको हो । काकरकै नेतृत्वमा आम निर्वाचन हुने भएको छ ।  कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिबार छलफल भएको थियो । त्यो छलफलपछि अनवरको नाममा सहमति जुटेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

पाकिस्तान सरकारको सिफारिसमा राष्ट्रपति आरिफ अल्बीले गएको बुधबार मध्यराति संसद विघटनलाई सदर गर्नुभएको थियो। संसद विघटन भएको मितिदेखि ९० दिनभित्र पाकिस्तानमा आम निर्वाचन गराउनुपर्ने छ । देश आर्थिक संकटमा परेको, पूर्वप्रधानमन्त्री इमरान खानलाई जेल सजाय भएको लगायतका थुप्रै उथलपुथलका बीच कार्यवाहक प्रधानमन्त्री अनवरलाई आम निर्वाचन शान्तिपूर्ण रुपमा गराउनुपर्ने जिम्मेवारी आइलागेको छ ।

अनवर उल हक काकर पाकिस्तानका चर्चित नेताहरुमध्येमा पर्दैनन् । अनवर सन् २०१८ मा बलुचिस्तानबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित हुनुभएको हो। पछि सिनेटमा बलुचिस्तान अवामी पार्टीको संसदीय दलको नेता पनि बन्नुभएको थियो ।  मिडिया रिपोर्ट अनुसार अनवरको सम्बन्ध पाकिस्तानी सेनासँग निकै राम्रो छ । त्यसैले उहाँलाई निर्वाचन गराउने मुख्य जिम्मेवारीसहित कार्यवाहक प्रधानमन्त्री चयन गरिएको चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *