रौतहट। रौतहटको गुजरा नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बिउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । प्रतिकिलो ६२ देखि ९८ रुपियाँमा खरिद गरी किसानलाई बिउ वितरण गरिएको हो । नगरपालिकाको कृषि विकास शाखाका प्रमुख विनय चौधरीले धानको बिउमा गुणस्तर नियन्त्रण गर्न बिउ खरिद गरी वितरण गरेको जानकारी दिनुभयो । धानको उत्पादन तथा बिउमा गुणस्तर नियन्त्रणका साथै खरिद प्रक्रिया पारदर्शी बनाउन डेसिस सिस्टम अपनाएको गुजरा नगरपालिकाका नगर उपप्रमुख रत्ना लामाले बताउनुभयो । उहाँका अनुसार नगरभित्रका किसानको मागका आधारमा प्रति कट्ठा एक किलो पाँच सय ग्रामका दरले बिउ अनुदानमा वितरण गरिएको छ ।
गुजरा नगरपालिकाका रामकृत चौधरीले ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएर किसानलाई कृषि पेसामा आत्मनिर्भर बनाउन नगरपालिकाले सहयोग गरेको बताउनुभयो ।
कृषि विकास शाखाका अनुसार मसिना तथा बास्नादार धान प्रवर्धन कार्यक्रम अन्तर्गत शुद्धोधन कालानामक, कतर्नि, सावित्री, राधा जातका धानको बिउ वितरण गरिएको छ ।