राधाकृष्ण डुम्रे
स्याङ्जा । स्याङ्जाको चापाकोटमा अफ्रिकन स्वाइन फिभरबाट एक किसानका २५ बङ्गुर मरेका छन् । चापाकोट नगरपालिका–९ को गहतराज बहुउद्देश्यी कृषि तथा पशुपालन फर्ममा पालिएका बङ्गुरहरु मरेका हुन् ।
नगरपालिकाका पशु सेवा शाखा प्रमुख समीक्षा रोकायाका अनुसार अहिले सात वटा माउ र एक भाले मरेको हो भने केही दिन पहिले १७ वटा पाठापाठी मरेका थिए । मरेका बङ्गुरबाट नमुना सङ्कलन गरेर गरिएको परीक्षणमा वाईन फिभर पुष्टी भएको उहाँको भनाइ छ ।
रिएल टाईम पिसिआर विधिबाट परीक्षण गर्ने क्रममा स्वाई फिभर पुष्टि भएको उहाँले बताउनुभयो । केन्द्रीय पशुपन्छि रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको पालिकाले जनाएको छ ।
रोग अझ फैलिने सक्ने खतरा रहेकाले रोकथामका उपाय अपनाउन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले सबैलाई अग्राह गर्नुभएको छ । सूचना निकालेर अधिकृत घिमिरेले सबैलाई सतर्क रहन आग्रह गर्नुभएको हो ।
बङ्गुर र बँदेलमा मात्र लाग्ने यो मान्छेमा नसर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो । स्वाईन फिभरबाट बङ्गुर मरेको जानकारी आएसँगै प्राविधिकसहितको टोली चापाकोट पुगेको उहाँको भनाइ छ ।
उहाँले यो रोगको कुनै औषधी र खोप नबनेकाले सुरक्षाका लागि जैविक उपाय अपनाउनु पर्नेमा जोड दिनुभयो ।
अफ्रिकन स्वाइन फिभर फैलिन नदिन मरेका बङ्गुरलाई सावधानीपूर्वक जमिनमा गाड्न, एक ठाउँबाट अर्को ठाउँमा बङ्गुरको पाठा तत्काल नलैजान, फर्ममा स्प्रे गरेर निसङ्क्रमण बनाउन उहाँको आग्रह छ ।
अफ्रिकन स्वाइन फिभर लागेमा बङ्गुरमा उच्च ज्वरो आउने लगायतको लक्षण देखा पर्ने र एक दुई दिनभित्र मर्ने गरेको जनाइएको छ । अफ्रिकन स्वाइन फिबर फैलिएमा एकै पटक धेरै बङ्गुर मर्ने गरेकाले सतर्कता अपनाउन पालिकाको आग्रह छ । गोरखापत्र अनलाईन