बेइजिङ । चीनको साताव्यापी भ्रमणमा रहेकी नेपालकी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई चिनियाँ नेताले नेपालका वामपन्थी पार्टीहरूबिच एकता कायम गर्न पहल गर्न सुझाव दिएका छन् । सोमबार बेइजिङमा आयोजित छिमेकी मुलुकका राजनीतिक दलहरूसँगको संवाद कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले यस्तो आग्रह गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भण्डारीसँगको डेढ घण्टाको छलफलमा जियानचाओले उनलाई नेपालको वरिष्ठ राजनीतिज्ञको सम्मान दिँदै जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सिद्धान्तभित्रै वामपन्थी एकताका लागि काम गर्न सुझाए ।
चिनियाँ नेताले दोस्रो सुझावका रूपमा नेपालका वामपन्थी र अन्य राजनीतिक दलहरूबिच पनि एकता कायम गर्न भण्डारीलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरे ।
चिनियाँ पक्षले नेपाल–चीनबीच भएका सम्झौताहरूको कार्यान्वयनप्रति प्रतिबद्धता जनाउँदै त्यसका लागि नेपालले उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिएको छ । साथै, नेपालका राजनीतिक दलहरूप्रति विश्वास व्यक्त गर्दै ती दलहरूले नेपाली जनताको आशा र भरोसालाई अगाडि बढाउने विश्वास चिनियाँ नेताले व्यक्त गरे ।
४२ देशका राजनीतिज्ञ र कूटनीतिज्ञ सहभागी उक्त कार्यक्रममा नेपालबाट एमाले नेताहरू रघुवीर महासेठ र कर्णबहादुर थापाले प्रस्तुति दिएका थिए । पूर्वराष्ट्रपति भण्डारी उद्योगमन्त्री दामोदर भण्डारीसहितको एमाले नेताहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा रहेकी छन् ।