काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताउँदै लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउन स्थानीय तहदेखि नै कुशल र दुरदर्शी नेतृत्वको छनोट हुन आवश्यक रहेकामा जोड दिनुभएको छ। उहाँले जनताको सबैभन्दा नजिकैको सरकार स्थानीय तह भएकाले जनताको दुःख सुखमा महलमपट्टी लगाउन सक्ने गरी काम गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “तपाईंहरूले जति चुस्त र प्रभावकारी तवरले सार्वजनिक सेवा प्रवाह गर्न सक्नुभयो, जति प्रभावकारी तवरले विकास निर्माणका कार्यलाई अघि बढाउनसक्नु भयो, जनताले त्यति धेरै सुशासनको अनुभूति गर्न पाउँछन्।
जनताको सरकारप्रतिको भरोसा र विश्वास पनि बढ्ने हुन्छ। अतः यस कुरालाई गम्भीरतासाथ मनन गरी तपाईंहरूले काम गर्ने अपेक्षा लिएको छु ।” स्थानीय तह निर्वाचन–२०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख, पालिकाका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षका लागि आजदेखि सुरु भएको दुई दिने अभिमुखीकरण कार्यक्रममा उहाँले उपलब्ध साधनस्रोतको प्राथमिकीकरण गरेर काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो। मुलुकमा तीन तहको सङ्घीय शासन प्रणाली लागू भएसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले जनताको शासक होइन सेवक र प्रतिनिधिको रूपमा आफूलाई उभ्याउनुपर्ने बताउनुभयो ।
उहाँले जनताको अपेक्षा र भावना बमोजिमको काम सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्नुपर्ने बताउँदै स्थानीय सरकारले गरेका काम र प्रदान गरेको सेवा सुविधाको प्रभाव जनतामा प्रत्यक्ष र छिटो पर्ने हुँदा जनताको काम छिटोछरितो ढङ्गले बिना कुनै झन्झट सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभूति गराउनु स्थानीय तहको मुख्य कर्तव्य हो भन्नुभयो । उहाँले जनताप्रति उत्तरदायी बन्दै पारदर्शीता र गुणस्तरीयता कायम गरेर काम गर्न सबै स्थानीय तहका जनप्रतिनिधिको ध्यानाकर्षण गराउनुभयो ।
निर्वाचित भइसकेपछि दलीय आग्रहभन्दा माथि उठेर जनताको साझा प्रतिनिधिको रूपमा सबैसँग सौहार्द्रपूर्ण सम्बन्ध र उचित समन्वय कायम गरेर काम गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले एउटा राजनीतिक दलबाट निर्वाचित भएर आए पनि नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ्नसक्नु र विकास निर्माण र सेवा प्रवाहमा मेरो तेरो नभनी सबैलाई बिना भेद्भाव समान पहुँच स्थापित गर्नसक्नु कुशल नेतृत्वको गुण हो भन्नुभयो ।
प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सफलतासाथ सम्पन्न भएसँगै मुलुक अहिले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको सङ्घारमा रहेको बताउँदै आगामी निर्वाचनमा जनताले आफ्नो मताधिकार प्रयोग गर्दा जनप्रतिनिधिहरुले आफ्ना क्षेत्रमा गरेका काम र सेवा प्रवाहमा भएका सुधारलाई मुख्य आधार बनाउने कुरामा कुनै शङ्का नरहेको उल्लेख गर्नुभयो ।
जनताको मन जित्ने गरी, भ्रष्टाचार नगरी, विधिसम्मत् तरिकाले काम गरी बढीभन्दा बढी जनताको मत प्राप्त गरी आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावमा कांग्रेसलाई बहुमत दिलाउन प्रयासरत रहन उहाँले आग्रह गर्नुभयो । कांग्रेस लोकतन्त्र र प्रजातन्त्रप्रति अटुट आस्था राख्ने मुलुककै सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी भएको र मुलुकमा २००७ सालदेखि २०६२/६३ सम्मका प्रत्येक जनक्रान्ति र आन्दोलनमा कांग्रसको निर्णायक भूमिका रहेको अवगत गराउँदै उहाँले भन्नुभयो, “यसरी गौरवपूर्ण राजनैतिक इतिहास बोकेको पार्टीका जनप्रतिनिधि हुन पाउनु तपाईंहरू सबैका लागि प्रतिष्ठाको विषय हो । अतः तपाईंहरूले कार्यसम्पादन गर्दा पार्टीको गौरवपूर्ण इतिहासलाई थप उजिल्याउने र नयाँ पुस्तालाई प्रेरणा र प्रोत्साहन मिल्ने गरी गर्न आवश्यक छ।
यसले नयाँ पुस्तालाई पनि तपाईंबाट सिक्न अभिप्रेरित गर्नेछ।” अबको एकमात्र उद्देश्य भनेको मुलुकको द्रुतआर्थिक रूपान्तरण गरी समग्र नेपाली जनताको जीवनस्तरलाई माथि उठाउने रहेको उल्लेख गर्दै उहाँले जनप्रतिनिधिले काममा पारदर्शीता, गुणस्तरीयता र जवाफदेहिता सुनिश्चित गर्नु आवश्यक रहेको बताउनुभयो।