काठमाडौं। एक नाबालिगलाई पटकपटक बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्ने नसकिने भन्दै अभिनेता पूर्ण विक्रम शाह (पल शाह) लाइृ पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेश अनुसार थुनामा पठाइएका शाहको थुनछेक आदेशको मुद्दामा बिहीबार सुनुवाइ हुँदैछ । उच्च अदालत पोखरामा बिहीबार थुनछेक प्रयोजनका लागि शाहको मुद्दा पेसीमा चढेको हो । दुवै जिल्ला अदालतको आदेशविरुरुद्ध शाह पुनरावेदन गर्न उच्च अदालत पोखरा पुगेका थिए ।
उच्च अदालत पोखराले यसअघि दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो । दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको मिसिल आइसकेपछि उच्च अदालत पोखराले बिहीबारका लागि उक्त मुद्दा दैनिक पेसी सूचीमा राखेको हो ।
पल शाहको थुनछेक आदेशका सम्बन्धमा परेको पुनरावेदनको निवेदन न्यायाधीशद्वय ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा परेको छ । उक्त मुद्दामा शाहका म्यानेजर कृष्ण प्रसाद जोशी धरौटीमा रिहा भएकाले उनले मुद्दामा चलखेल गरेको भन्दै उनलाई पनि थुनामै राख्न सरकारी वकिलले निवेदन दिएको छ । यी सबै मुद्दालाई लगाउमा राखेर बिहीबार सुनुवाइ हुनेछ ।