काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेको गोरखा महोत्सवलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–निजी क्षेत्रको सहकार्य अनिवार्य रहेकोमा जोड दिनुभयो ।
उहाँले आर्थिक विकासका चुनौती हल गर्दै सामाजिक न्यायको प्रत्याभुति, सुशासन र समृद्धि हासिल गर्न सम्मानित संसदमा समेत प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउनुभयो ।
गोरखाका जनताले दिएको मतले प्रधानमन्त्री बन्न सफल भएकोमा आभार व्यक्त गर्दै प्रचण्डले चुनावी प्रतिबद्धताअनुरूप विकासका लागि प्रतिबद्ध रहने समेत बताउनुभयो ।