सप्तरी । बोदे बरसाईन नगरपालिका १० अमरैयामा आज दिउँसो आगाेलागी हुँदा एक जना बालकको जलेर मृत्यु भएको छ। स्थानीय शत्रुधन यादवको घरबाट अचानक शुरु भएको आगाेलागीमा परेर उनकै ११ वर्षीय छोरा शैलेश कुमार यादवको मृत्यु भएको हो ।
आगाेलागीको बेला शैलेश घरभित्रै फसेको र परिवारका मान्छेलाई सोबारे जानकारी नभएकाले जलेर मृत्यु भएको स्थानीयले जनाएको छ । आगाेलागीमा यादवसहित छिमेकीहरु ओम यादव र मिन्टु यादवको एकएक वटा घर जलेको स्थानीयले बताएका छन् । सो आगाेलागीमा के कति क्षति भएको हो भन्ने बारे तथ्यांक संकलनका कार्य भइरहेको प्रहरीले जनाएको छ।