काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी काठमाडौं उपत्यकामा आज परम्परागत रुपमा इन्द्रजात्रा मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं ललितपुर, भक्तपुर र काभ्रेपलान्चोक जिल्लामा मनाइने गरिन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूवक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइने गरिन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइने लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोका फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा इन्द्रजात्रालाई लिने गरिन्छ ।
आज राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रुपमा रहेका कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ । राजतन्त्र रहुन्जेल राजाबाट कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा थियो ।
इन्द्रध्वजाको लिंगो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, मकाकालीजाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रुपमा पुलुकिसी नाच नचाइने गरिन्छ ।
आजको दिन उपत्यकाको दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरेर मेला भनर्ए भक्तजनको घुइँचो लाग्छ । चतुर्थीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक परम्परा छ ।